पाल वायुसेवा निगमले दुईवटा न्यारोबडी जहाज ल्याउँदै,५० अर्ब ऋण 

काठमाडौं । नेपाल वायुसेवा निगमले दुईवटा न्यारोबडी जहाज लिजमा लिन टेन्डर आह्वान गरेको छ ।निगमले अन्तर्राष्ट्रिय गन्तव्य थप गदै बजार विस्तार गर्न २ वटा न्यारोबडी जहाज लिजमा लिन टेन्डर आह्वान गरेको हो । निगमले मुलुकको पर्यटन प्रवर्द्धनमा बलियो उपस्थिति जनाउने उद्देश्यले जहाज भाडामा लिन लागेको जनाएको छ । निगमका प्रवक्ता रमेश पौडेलले जहाज भाडामा दिने कम्पनीले विमान, चालक दल, मर्मतसम्भार, बिमासमेत आफैंले बेहोर्ने र निगमले बजार व्यवस्थापन गर्ने सम्झौतामा दुईवटा न्यारोबडी जहाज भाडामा लिन लागिएको जानकारी दिए ।
नेपाल वायुसेवा निगमसँग अन्तर्राष्ट्रिय उडानका लागि अहिले २ वटा न्यारोबडी र २ वटा वाइबडी गरी जम्मा ४ वटा जहाज मात्रै छन् । तर, ती पनि नियमित नहुँदा निगमको बजार निरन्तर खुम्चँदै गएको छ । प्रवक्ता रमेश पौडेलले राष्ट्रिय ध्वाजवाहक जहाज भन्ने तर चारवटा जहाज राखेर चार सय जहाज भएको मुलुकसँग प्रतिस्पर्धा गर्न नसक्ने अवस्था रहेको भन्दै अन्य देशसँग प्रतिष्पर्धाको लागि जहाज आवश्यक परेको बताए । निगमले साधन स्रोत ल्याएर सम्भाव्य बजारलाई बढाएर आम्दानी गर्ने, आम्दानी पनि बढाउने र जहाजको भाडा पनि तिर्नेगरी योजना अगाडि बढेको उनको भनाइ छ ।
निगमको व्यवस्थापन कमजोर हुँदा दुईवटा न्यारोबडी र २ वटा वाइडबडी खरिद गर्न लिएको ३४ अर्ब ऋण अहिले ५० अर्बभन्दा माथि पुगिसकेको छ ।नेपाल वायुसेवा निगमको इतिहास हेर्ने हो भने हरेक जहाज खरिद वा लिज प्रक्रियामा घोटालाको आशंकासहित छानबिन भएका छन् । बजार विस्तार गर्दै आर्थिक अवस्था सुधार्ने १० वर्षे व्यावसायिक योजनाअनुसार निगमले २ वटा न्यारोबडी लिजमा लिने प्रक्रिया अगाडि बढाएको प्रवक्ता रमेश पौडेलको दाबी छ ।निगम पछिल्लो समय बजार विस्तारमा आक्रामक देखिएको छ र विगतको बद्नामीबाट निगम व्यवस्थापन पनि सचेत छ । दुर्गम उडान गर्न तीनवटा जहाज खरिदका लागि निकालेको टेन्डर मूल्यांकनका क्रममा छन् । सहरी क्षेत्रमा उडान गर्न तीनवटा एटीआर खरिद गर्न भन्दै उप–समिति बनाएर अध्ययन गरिरहेको छ । यसपटक प्रक्रियामा कुनै बदमासी नहुने निगम सञ्चालक समिति सदस्य किशोर प्रधानको दाबी छ ।उनले निगमको कार्ययोजनाअनुरुप हाल निगमसँग भएको दुईवटा वाइडबडी जहाज जापान, सिड्नी र कोरिया उडानमा प्रयोग हुँदा अन्य क्षेत्रमा हाल भएका दुई न्यारोबडी जहाजले उडान चापको माग धान्न नसक्ने भएकाले जहाज थप गर्न लागेको उल्लेख गरे । उनले थप भएका दुई जहाजले अहिले रहेको उडान चापलाई व्यवस्थापन गर्नेगरी दिल्ली, दुबई, दोहा, मलेसियालगायत क्षेत्रमा उडान थप गरी आय बढाउने योजना रहेको दाबी पनि गरे ।