Trending Now

पोखराका ६ वटै क्याम्पसमा रोकियो स्ववियु निर्वाचन

पोखरा । चैत ५ गते हुने भनिएको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन कास्कीका ६ वटै क्याम्पसमा नहुने भएको छ । देशकै सबैभन्दा ठूलो क्याम्पस पृथ्वीनारायण क्याम्पसमा फागुन २७ गते उम्मेदवारी दर्ता भएन ।

विद्यार्थीहरुबीच विवाद र निर्वाचन समितिले विद्यार्थी संगठनको नाम गलत प्रकाशन गरिदिएपछि अदालत पुगेको पिएनको चुनाव तत्काल नगर्न उच्चले आदेश दिएको छ । पिएनजस्तै वन विज्ञान अध्ययन संस्थान, जनप्रिय बहुमुखी क्याम्पस र विन्दुवासिनी संस्कृत विद्यापीठमा निर्वाचनको प्रक्रिया नै सुरु भएन । वनमा नेविसंघ र अखिल क्रान्तिकारीले ताला लगाएका छन् ।

जनप्रियमा नेविसंघले नै विवाद झिकेर चुनाव रोकिएको छ । उता विन्दुवासिनीमा अखिल र अखिल क्रान्तिकारीले ताला झुन्ड्याएका छन् । निर्वाचन नहुने भएपछि निर्वाचन समिति संयोजकले राजीनामा बुझाएका छन् । विद्यार्थी संगठनहरुको बुझाइको कमीका कारण सबैतिर निर्वाचन रोकिएको पिएनका निर्वाचन समितिका सदस्य सचिव बोधराज ढकाल बताउँछन् ।

२७ फागुनमा मनोनयन दर्ता भएका पश्चिमाञ्चल इन्जिनियरिङ र पोखरा नर्सिङमा पनि मतदान भने अनिश्चित भएको छ । इन्जिनियरिङमा नेविसंघले असन्तुष्टि जनाउँदै निर्वाचन कार्यालयमा आमरण अनसन सुरु गरेको छ भने नर्सिङमा अनेरास्ववियुबाट अध्यक्ष उम्मेदवार अञ्जना अधिकारी सरकारी कर्मचारी भएकोले उम्मेदवारी खारेजीको माग गर्दै नेविसंघले विरोध जनाएको छ । उक्त उम्मेदवारी विरुद्ध उच्च अदालत पोखरामा उजुरी परेको छ । फैसला आएको छैन । योसँगै तोकिएको मितिमा कास्कीका ६ वटै क्याम्पसमा निर्वाचन नहुने पक्का भएको छ ।

Comments are closed.