‘प्रचण्ड सरकारसँग इमान छैन, राष्ट्रघाती काम गर्छ, गैरजिम्मेवार भएर सरकारमा बसिरहेकाे छ’

काठमाडाैं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिलेकाे गठबन्धन सरकार चरम असफल सरकार भएकाे बताउनुभएकाे छ ।

मध्यपहाडी लाेकमार्ग विशेष अभियान (झुलाघाट-चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्रा) का अन्तर्गत बिहीबार बाग्लुङ बजारमा आयाेजित सभालाई सम्बाेधन गर्दै अध्यक्ष ओलीले अहिलेकाे सरकार इमान नभएर मात्रै सरकारमा बसिरहेकाे बताउनुभयाे ।

उहाँले भन्नुभयाे – ‘अहिलेकाे सरकार असफल सरकार, असफल मात्रै हाेइन चरम असफल सरकार, याे त गैरजिम्मेवार भएर, इमान नभएर मात्रै सरकारमा बसिरहेकाे छ, नत्र राजीनामा गरेर घर जानुपर्ने सरकार, याे त सरकारमा बसिरहन लाज नमानेर कसरी बसेकाे छ सरकारमा अचम्म लाग्दाे छ ।’

अध्यक्ष ओलीले अहिलेकाे सरकारका कारण देशमा राजनीतिक अस्थिरता  बढिरहेकाे, अराजकता बढिरहेकाे, जनतामा निराशा र अन्याैल बढिरहेकाे, युवाहरु पलायन भइरहेका, अर्थतन्त्र ध्वस्त भएकाले यसलाई नैतिक रुपमा पनि सरकारमा बस्ने हक नभएकाे बताउनुभयाे ।

ऋण उठाएर कर्मचारी पाल्नुपर्ने बाध्यता अहिलेको सरकारले निर्माण गरेको उहाँले बताउनुभयाे । देशकाे अर्थतन्त्र ध्वस्त पार्ने र कर्मचारीलाई तलब खुवाउन नसक्ने सरकारले विकास गर्छ भन्ने कल्पना पनि गर्न नसकिने समेत अध्यक्ष ओलीले बताउनुभयाे । उहाँले भन्नुभयाे – ‘देशको राजनीतिक अस्थिरता बढ्दो छ, अराजकता बढ्दो छ, जनतामा निराशा र अन्योल बढ्दो छ, युवाहरू पलायन भइरहेका छन्, अर्थतन्त्र ध्वस्त हुँदै गएको छ, आन्तरिक ऋण उठाएर कर्मचारी पाल्नुपरेको छ, त्यही पनि पहिलो चौमासिकमा,पहिलो चौमासिक, जतिबेला सबैभन्दा बढी पैसा संकलन हुन्छ, त्यही चाैमासिकमा कर्मचारीलाई तनखा खुवाउन सकेकाे छैन, ऋण लिएर प्रशासन चलाउनुपरेकाे छ, यस्ताे सरकारले विकास के गर्छ ? कर्मचारीकाे तनखा बाँकी छ, तिर्न सकेकाे छैन, यस्ताे सरकार सरकार हुम् भनेर कुन मुखले कुर्सीमा बस्छ ? लाज हुनुपर्ने हाे, तर याे सरकार लज्जाबोध नभएको सरकार हाे ।’

अहिलेकाे सरकार राष्ट्रघाती भएकाे र देशकाे इज्जत समाप्त पार्ने काम गरेकाे समेत उहाँले बताउनुभयाे । अध्यक्ष ओलीले भन्नुभयाे – ‘यसले राष्ट्रघाती काम गर्छ, यसले देशको इज्जत समाप्त पार्छ, यसले स्वाधिनता कमजोर पार्छ, स्वतन्त्रताको प्रयोग गर्न सक्दैन, राष्ट्रिय हीतको रक्षा गर्न सक्दैन, भूमिको बारेमा बोल्न सक्दैन ।’

एमालेकाे पालामा विकासका काम भएका भन्दै उहाँले एमाले छाडेपछि विकास ठप्प भएकाे बताउनुभयाे । अहिलेकाे सरकार चल्ने भन्दा पनि जबरजस्ती सरकारमा बसेकाे समेत अध्यक्ष ओलीले बताउनुभयाे ।

अर्थतन्त्र ध्वस्त भएकाे, गरिबी बढेकाे, युवा पलायन भइरहेका, महंगी बढेकाे, देश कमजाेर हुँदै गएकाे, बैंक र ऋणीहरुकाे सम्बन्ध कमजाेर भएकाे भन्दै उहाँले यस्ताे नाजुक अवस्थामा देश पुग्दा सरकारले कुनै चासाे नदिएकाे बताउनुभयाे ।

एमालेले काेभिड महामारीका बेला पनि अर्थतन्त्रलाई चलायमान बनाएकाे स्मरण गर्दै अध्यक्ष ओलीले अहिलेकाे सरकारले अर्थतन्त्र मात्र नभएर सबै क्षेत्र डामाडाेल पारेकाे बताउनुभयाे ।

अहिलेकाे सरकारबाट जनता वाक्क भएका र एमालेकाे सरकार खाेजिरहेका आफूहरुले अभियानका क्रममा महशुस गरेकाे समेत उहाँले बताउनुभयाे । अध्यक्ष ‌ओलीले भन्नुभयाे – ‘हामीले याे अभियानका क्रममा एमालेप्रति जनता उत्साह देख्याैं, एमाले छ देश बर्बाद हुँदैन, एमाले छ सुशासन कायम हुन्छ, विकास हुन्छ भन्ने विश्वास जनतामा पाइयाे, एमालेप्रति जनताकाे अभूतपूर्व विश्वास देखियाे ।’