बाँके,कोहलपुर
नेपाल प्रज्ञा -प्रतिष्ठानको प्रमुख आयोजना र कोहलपुर नगरपालिका तथा हाम्रो पूर्णिमा साहित्य प्रतिष्ठान कोहलपुरको सहआयोजनामा
‘लुम्बिनी प्रदेश एकदिने आख्यान महोत्सव’को आयोजना गरिएको थियोे ।
यस कार्यक्रममा पूर्णिमा साहित्य प्रतिष्ठानले प्रत्येक वर्ष प्रदान गर्दै आएको ‘पूर्णिमा साहित्य रत्न–२०७९’ प्रा.डा. रामप्रसाद ज्ञवाली र ‘तुल्सीराम स्मृति पुरस्कार–२०७९’ बाँकेकी साहित्यकार ऋचा लुइँटेललाई नेपाल प्रज्ञा-प्रतिष्ठानमा कुलपति भूपाल राईले भव्य समारोहबिच प्रदान गर्नुभएको थियोे ।
यस महोत्सवलाई सम्बोधन गर्दै नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भूपाल राईले प्रज्ञा -प्रतिष्ठान कथा खोज्दै गाउँगाउँ पसेको बताउनु भएको थियोे ।उहाँले गाउँका अनेकौँ कथा अझै लेखिन बाँकी भएकाले प्रतिष्ठान कथा खोज्दै गाउँ पसेको उल्लेख गर्नुभएको थियोे । नेपालमा अनेकौँ भाषाभाषी र जातजातिका मानिसको बसोबास रहेपनि उहाँहरूका कथा अझै लेख्न नसकिएको बताउनु भएको थियोे ।
यसै क्रममा उहाँले प्रज्ञा -प्रतिष्ठानबारे कतिपय व्यक्तिलाई जानकारी नभएको धारणा राख्नुभएको थियो । ‘प्रज्ञा-प्रतिष्ठानका काम कर्तव्यबारे गाउँगाउँमा अझै पनि धेरै मानिसलाई जानकारी नै रहेनछ,’ ‘त्यसैले पनि गाउँ -गाउँका कथा खोज्दै र प्रतिष्ठानका गतिविधिबारे जानकारी दिँदै हामी गाउँ पसेका हौँ।’विगतमा प्रज्ञा-प्रतिष्ठानलाई बौद्धिक विलासको थलो मात्र बनाउने गरेको उहाँको भनाइ रहेको थियो ।अबका दिनमा भने प्रज्ञा-प्रतिष्ठानले भाषा साहित्यप्रतिको आफ्नो जिम्मेवारी पूरा गर्ने उहाँले दाबी गर्नुभएको थियो । यसैको सुरुवातस्वरूप गाउँगाउँमा रहेका लोपोन्मुख भाषा संस्कृति र समुदायका कथा खोज्नैका लागि प्रज्ञा-प्रतिष्ठानले प्रदेशस्तरीय कार्यक्रम आयोजना गरेको उहाँको भनाइ थियो।
यस कार्यक्रममा प्रज्ञा -प्रतिष्ठानका प्रज्ञा परिषद् सदस्य तथा आख्यान विभाग प्रमुख अमर न्यौपानेले कोहलपुरलाई ‘सहरले खाएको गाउँ’को संज्ञा दिँदै यहाँ थुप्रै कथा अझै लेखिन बाँकी रहेको बताउनु भएको थियोे ।
१५ वर्षअघि आफूले एउटा प्रोजेक्टअन्तर्गत यही भूमिमा आएर यहाँका चिडिमार र पत्थरकट्टा समुदायको कथा लेखेको उहाँले स्मरण गर्नुभएको थियोे ।उहाँले सांस्कृतिक सिद्धान्त निर्माण गर्ने हेतुले प्रत्येक प्रदेशबाट कम्तिमा तीनवटा सांस्कृतिक कथा लेखाउने निर्णय हालै प्रज्ञा परिषदबाट भएको जानकारी दिनुभएको थियोे ।
यस कार्यक्रमलाई सम्बोधन गर्दै प्रा.डा. रामप्रसाद ज्ञवालीले साहित्य सिर्जना गरेर मात्र नहुने र आफूले कस्तो लेखिरहेको छु भन्नेबारे स्वयम् स्रष्टाले पनि आत्मसमीक्षा गर्नुपर्ने बताउनु भएको थियो । उहाँले स्रष्टाहरूलाई शक्तिशाली सिर्जना गर्न समेत आग्रह गर्नुभएको थियोे ।
यसैगरी कार्यक्रमको पहिलो सत्रमा स्रष्टाहरूलाई सम्मान गरिएको थियो भने दोस्रो सत्रमा लुम्बिनी प्रदेशको साहित्यको अवस्था बारे डा. टीकाराम उदासीले प्रकाश पार्नु भएको थियोे ।
यसैगरी तेस्रो सत्रमा ‘बसाइँसराइ र समाज परिवर्तनका कथा’बारे प्यानल डिस्कसन गरिएको थियो । जसमा वक्ताका रूपमा पूर्वमन्त्रीसमेत रहेका थारू भाषाका अध्येता डा. गोपाल दहित र कोहलपुर नगरपालिकाका मेयर पूर्णप्रसाद आचार्य रहनु भएको थियो । जसको सहजीकरण नेपाल प्रज्ञा-प्रतिष्ठानका प्रज्ञासभा सदस्य डा. कृष्णराज सर्वहारीले गर्नुभएको थियोे । यस सत्रमा विशेषगरी थारू भाषा र समुदायका विविध विषयमाथि चर्चा गरिएको थियो ।
यसैगरी, अर्को सत्रमा ‘आख्यान कति यथार्थ कति कल्पना’ विषयक प्यानल डिस्कसनमा प्रज्ञा-प्रतिष्ठानमा प्राज्ञ परिषद् सदस्य प्राज्ञ अमर न्यौपाने र साहित्यकार डा. अशोक थापाले आ–आफ्ना विचार प्रस्तुत गर्नुभएको थियोे । कथाकार सुमित्रा न्यौपानेले सहजीकरण गरेको यस सत्रमा डा. थापाले १२–१५ वटा विश्वविद्यालय सञ्चालनमा आइसक्दा पनि अहिलेसम्म नेपालमा सिर्जनात्मक लेखनबारे अध्ययन अध्यापन हुन नसकेकोमा चिन्ता व्यक्त गर्नुभएको थियो । यसैगरी प्राज्ञ न्यौपानेले साहित्य लेखनमा कल्पना र यथार्थ दुवैको समान भूमिका रहेको बताउनु भएको थियोे ।
यसैगरी’ रैथाने’ कथाका बारेमा सामाजिक अभियन्ता राजाराम गुप्ता र राजनीतिककर्मी एकमाया विकले आ-आफ्ना विचार राख्नुभएको थियो । यस डिस्कसनको सहजीकरण साहित्यकार पुष्कर रिजालले गर्नुभएको थियोे । ।यस कार्यक्रममा कथा वाचनसमेत गरिएको थियो ।
यस कार्यक्रममा त्यहाँका साहित्यकारहरूको बाक्लो उपस्थिति रहेको थियोे ।