काठमाडौँ । प्रतिनिधि सभा नियमावली २०७९ पारित भएको छ । आइतबार बसेको प्रतिनिधि सभाको बैठकले प्रतिनिधि सभा नियमावली २०७९ पारित गरेको हो । विवादित बनेको सभामुखको अधिकार खोस्ने संशोधन फिर्ता भएको छ ।
यसअघि सत्ता पक्षका केही सांसदले नियमावलीमा सभामुखले गर्ने भनिएका काम कार्यव्यवस्था परामर्श समितिको निर्णयअनुसार मात्र गर्नेछन् भन्ने प्रश्ताव राखेका थिए । सो संशोधन प्रश्तावको आलोचना भएपछि अन्ततः संशोधन फिर्ता भएको हो ।
कार्यव्यस्था परामर्श समितिलाई बढीभन्दा बढी शक्तिशाली बनाएर सभामुखको तजबिज अधिकार कटौती गर्नेगरी संशोधन राखिएको थियो । सांसदहरू राजन केसी, सञ्जय गौतम, रामहरि खतिवडा, अम्मरबहादुर थापा, भानुभक्त जोशी, रेखा यादव, रुपा सोसी चौधरी, नरायणी शर्मालगायतले संशोधन राखेका थिए ।
छलफलपछि उठेका प्रश्नहरूको जवाफ दिँदै नियमावाली मस्यौदाकार समितिको तर्फबाट सांसद रमेश लेखकले थप एक उपनियम थपेर परामर्श समितिको बैठक अधिवेशन चालु रहेका अवस्थामा नियमित रुपमा र अन्य समयमा आवश्यकताअनुसार बस्ने भनी थप गरिने जानकारी दिए ।