प्रतिनिधि सभा बैठक आज बस्दै, प्रधानमन्त्री प्रचण्डले विश्वासकाे मत लिने

काठमाडाैं । प्रतिनिधि सभाकाे बैठक आज बस्दैछ ।

संघीय संसद् भवन नयाँ बानेश्वरमा बिहान ११ बजे बस्ने प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासकाे मत लिनुहुने कार्यसूची रहेकाे संसद् सचिवालयले जनाएकाे छ ।

नेपाली कांग्रेसले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिन लाग्नुभएकाे हाे । गत फागुन २१ मा कांग्रेससँगको सहकार्य तोडेर प्रधानमन्त्री प्रचण्डले नेकपा एमालेसहितकाे नयाँ गठबन्धन बनाउनुभएकाे थियाे ।

प्रधानमन्त्री प्रचण्डले १४ महिनामा तेस्रो पटक विश्वासको मत लिँदै हुनुहुन्छ । गत वर्ष पुस १० मा एमालेको समर्थनमा प्रधानमन्त्री बनेपछि उहाँले पुस २६ मा पहिलो पटक विश्वासको मत लिनुभएकाे थियाे ।​ त्यसबेला उहाँलाई २ सय ७५ मध्ये २ सय ६८ सांसद्ले मत दिएका थिए ।

प्रधानमन्त्री प्रचण्डले पुरानाे गठबन्धन ब्युँताएपछि एमाले र रास्वपाले सरकारलाई दिएकाे समर्थन फिर्ता लिएका थिए । त्यसपछि प्रधानमन्त्री प्रचण्डले गत वर्ष चैत ६ गते दोस्रो पटक विश्वासको मत लिनुभएकाे थियाे । त्यसबेला उहाँकाे पक्षमा १ सय ७२ मत सांसद्ले समर्थन गरेका थिए ।

विश्वासको मत प्राप्त गर्न प्रधानमन्त्री प्रचण्डलाई १ सय ३८ सांसद्को समर्थन चाहिन्छ । सत्ता गठबन्धनकाे प्रमुख घटक एमालेका ७७, माओवादी केन्द्रका ३२, रास्वाका २१, जनता समाजवादीका १२ र एकीकृत समाजवादीका १० सांसद्काे समर्थन उहाँलाई छ ।

४ सिट भएको नागरिक उन्मुक्ति पार्टीले पनि विश्वासको मत दिन ह्विप जारी गरेको छ । यद्यपि साे पार्टीमा अध्यक्ष रञ्जिता श्रेष्ठ र नेता रेशमलाल चाैधरीबीच नै सरकारमा जाने-नजाने विवाद छ । श्रेष्ठले प्रधामन्त्रीलाई विश्वासकाे मत दिन निर्देशनसहित पत्र जारी गर्दा रेशमले विश्वासकाे मत नदिन पत्र जारी गर्नुभएकाे छ । त्यसैले नागरिक उन्मुक्तिबारे अहिले केही भन्ने अवस्था छैन ।

प्रतिनिधि सभामा  सत्ता गठबन्धनका ५ दल र नागरिक उन्मुक्तिबाहेक नेपाली कांग्रेसका ८८, राप्रपाका १४, जनमतका ६, लोसपाका ४ । जनमोर्चा र नेपाल मजदुर किसान पार्टीका २ र २ स्वतन्त्र सांसद् छन् ।