प्रधानमन्त्रीले भने- म अलि उदार भएँ, अब समीक्षामा छु

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले गत मंगलबार राष्ट्रका नाममा गरिएको सम्बोधन सरकारको आगामी वर्षको मार्गचित्र भएको बताउँदै त्यसलाई अक्षरंश लागु गरिने बताएका छन् ।बिहीबार बिहान प्रधानमन्त्री कार्यालयमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयसँगको छलफलमा प्रधानमन्त्रीले अब कामका आधारमा मूल्यांकन हुने बताए ।छलफलपछि प्रधानमन्त्रीले भने, ‘म अलि उदार भएँ। मन्त्रालयलाई मैले अलि उदार छोडिदिएँ र काम कम भयो कि भन्ने समीक्षामा पनि छु। पहिला तपाईंहरूले यो कुरा आत्मसात गर्नुहोला। मैले अस्ति सम्बोधनमा जे कुरा भनेको छु, त्यो राम्रोसँग हेर्नुहोला। नियमित अपडेट हुनुहोला । आज नै हामी प्रधानमन्त्री कार्यालयको पुनर्संरचना गर्दैछौं। अरू काम पनि क्रमशः अगाडि बढ्छन् । सम्बोधन अक्षरशः पालना गरिन्छ।’
प्रधानमन्त्री दाहालले यो सामान्य छलफल नभएको र काममा नयाँ गति ल्याउन छलफल गरिएको बताए । ‘यो छलफलको सुरूवात हो, अन्त्य होइन । जनताका लागि अझ राम्रो काम गर्ने संकल्पका साथ यो छलफल प्रारम्भ गरिएको हो । मन्त्रालयले राम्रो काम गरेनन् भने सरकार र प्रधानमन्त्रीलाई आरोप आउँछन् । यसमा सचेत हुनुहोला’ प्रधानमन्त्रीले भने ।
बैठकमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले मुग्लिन–पोखरा र नारायणगढ–बुटवल सडकको निर्माण कार्यलाई उच्च प्राथमिकतामा काम गरिरहेको, नागढुंगा सुरूङमार्ग निर्माणको काम अपेक्षित गतिमा अगाडि बढेको, हुम्लाको सदरमुकाम सिमीकोटसम्म सडक बिस्तार र कालोपत्रे गर्ने प्रक्रियालाई प्राथमिकता दिइएको बताउँदै जुनसुकै विकल्पमा गएर भए पनि निर्माण व्यवसायीको पूरानो भुक्तानी टुंगो लगाउनुपर्ने बताएका थिए ।
मन्त्री ज्वालाले स्रोत सुनिश्चिततामा लचिलो प्रक्रिया अपनाउनुपर्ने, राष्ट्रिय गौरवका आयोजनामा बजेटको कमी नहुने गरी कार्यक्रम तर्जुमा गर्नुपर्ने, भौतिक पूर्वाधारका निम्ति देखापर्ने समस्या सम्बोधनका निम्ति छाता कानुन वा उच्चस्तरीय संयन्त्र आवश्यक रहेको, रकमान्तर नहुँदा प्राथमिकताका आयोजनामा बजेटको अभाव भएको बताउँदै विकासमैत्री नीति, संयन्त्र र कार्यक्रमको विकासमा जोड दिए।
त्यसैगरि राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठले विकास ऐन तर्जुमालाई उच्च प्राथमिकता दिने बताउँदै ‘प्राइममिनिस्टर डेलिभरि युनिट’ निर्माण गर्नुपर्ने, आयोजनाको ठेक्का तोड्नुपूर्व नयाँ ठेक्काका लागि पर्याप्त गृहकार्य हुनुपर्ने बताए ।