प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरबाट जिल्ला प्रहरी कार्यालय गुल्मीमा नवनिर्मित भवनहरू उद्‍घाटन

गुल्मी, २१ वैशाखप्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले जिल्ला प्रहरी कार्यालय गुल्मी परिसरमा नवनिर्मित कार्यालय प्रमुख निवास, सिनियर प्रहरी अधिकृत आवास भवन, प्रहरी ब्यारेक, भान्सा घर तथा हिरासत कक्ष भवनहरूको बिहीबार आयोजित एक कार्यक्रमबीच उद्‍घाटन गर्नुभयो । साथै उहाँले उक्त नवनिर्मित भवनहरूको निरीक्षण समेत गर्नुभयो ।

कार्यक्रममा प्रहरी महानिरीक्षक कुँवरले समुदाय-प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत सहकार्य गर्ने रेसुङगा नगरपालिकालाई कदरपत्र तथा भवन निर्माण कार्यमा सहयोग पुर्‍याउने विभिन्न महानुभावहरुलाई प्रशंसा-पत्र प्रदान गर्नुभयो ।

उक्त अवसरमा प्रहरी महानिरीक्षक कुँवरले भवन निर्माण कार्यलाई नेपाल सरकारले तिव्रता दिएको उल्लेख गर्दै प्रहरीका काम कारवाहीलाई सहजीकरण गरी कार्य सम्पदानको गुणस्तरलाई वृद्धि गर्न नवनिर्मित भवनहरू सहयोगी हुने बताउनुभयो ।  अपराध अनुसन्धानको सुयोग्य साधन बनाउने अभिप्रायले स्थापित नेपाल प्रहरीले अपराध अनुसन्धान तथा नियन्त्रणलाई पहिलो प्राथमिकतामा राख्दै सबै सरोकारवाला निकायहरूसँग समन्वय गरी एकतावद्ध भएर आफ्नो भूमिका निर्वाह गरिरहेको उहाँले उल्लेख गर्नुभयो । प्रहरी महानिरीक्षक कुँवरले भवन अभाव भएको अवस्थामा नवनिर्मित भवनले काम गर्न सहज हुने र प्रहरी कर्मचारीहरूको मनोबलमा थप वृद्धि हुने विश्वास व्यक्त गर्नुभयो ।

गुल्मी जिल्लाका प्रमुख जिल्ला अधिकारी सागर मणी पाठक र रेसुङ्गा नगरपालिका उप-प्रमुख अमृता देवी कुँवरले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको उक्त कार्यक्रममा जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रमुख प्रहरी उपरीक्षक नविन किशोर प्रधानले धन्यवाद ज्ञापन गर्नुभएको थियो ।

जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक डिल्ली नारायण पाण्डेले स्वागत मन्तव्य व्यक्त गर्नुभएको उक्त कार्यक्रममा प्रहरी नायव उपरीक्षक ई. धुर्व अधिकारीले भवन निर्माणसम्बन्धी प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । नेपाल सरकारको नियमित बजेटबाट कुल ६ करोड ६८ लाख २६ हजार ३ सय ५६ रूपैयाँको लागतमा उक्त भवनहरू निर्माण कार्य सम्पन्न भएको हो ।

कार्यक्रममा जिल्ला अदालत गुल्मीका न्यायाधीश वसन्त राज पौडेल, नेपाल प्रहरी श्रीमती संघकी अध्यक्ष, जिल्लास्थित सुरक्षा निकायका प्रमुखहरू, जिल्लास्थित राजनैतिक दलका प्रमुख एवं प्रतिनिधिहरू, स्थानीय जनप्रतिनिधिहरू, पूर्व प्रहरी कर्मचारीहरू, अमर प्रहरीका परिवारहरू, विभिन्न संघ संस्थाका प्रमुख एवं प्रतिनिधिहरू, स्थानीय समाजसेवी, भद्रभलादमी, संचारकर्मी एवं स्थानीयवासीहरूको उपस्थिति रहेको थियो ।

उद्‍घाटन कार्यक्रम पश्चात प्रहरी महानिरीक्षक कुँवरले जिल्ला प्रहरी कार्यालय गुल्मी तथा मातहत इकाईहरुमा कार्यरत प्रहरी अधिकृत तथा जवानहरूलाई आवश्यक निर्देशन समेत दिनुभयो ।

Comments are closed.