प्राधिकरणले काट्यो महशुल नतिरेका थप १४ उद्योगको बिजुली

काठमाडौं । विद्युत प्राधिकरणले विगतमा डेडिकेटेड फिडर एवम् ट्रंक लाइनबाट विद्युत उपभोग गरेका तर त्यसबापतको प्रिमियम सहितको महशुल नतिरेका थप १४ वटा उद्योगहरुको विद्युत आपूर्ति बन्द गरेको छ ।
प्राधिकरणले शुक्रबार ५ करोड रुपैयाँभन्दा बढी विद्युत् बक्यौता भएका ग्राहकहरुको विद्युत् लाइन काटेको हो ।बाबा जुट मिल, निगाले सिमेन्ट, त्रिवेणी सिन्थेटिक यार्न इन्डस्ट्रिज, हिमाल आइरन एण्ड स्टील, जगदम्बा इन्टरप्राइजेज, हामा आइरन र एभरेष्ट पेपर मिलको लाइन काटिएको छ ।त्यसैगरी, कसमस सिमेन्ट, शुभश्री अग्नी सिमेन्ट, जगदम्बा सिन्थेटिक, घराना फुड्स, सिद्धार्थ पेटप्लास्ट, बुटवल सिमेन्ट, नारायणी स्पातको लाइन काटिएको छ ।
बक्यौता नतिर्ने उद्योगको लाइन प्राधिकरणले पुस ६ गतेदेखि काट्न थालेको थियो । पहिलो चरणमा १ अर्ब रुपैयाँभन्दा बढी बक्यौता रहेका ४ उद्योगको लाइन प्राधिकरणले गत शुक्रबार काटेको थियो।शुक्रबार लाइन काटिएका १४ उद्योगसँगै डेडिकेटेड फिडर एवम् ट्रंक लाइनबाट विद्युत् प्रयोग गरी महशुल नतिरेपछि लाइन काटिने उद्योगको संख्या २३ पुगेको छ।