काठमाडौँ । फर्जी कागजात तयार गरेर ऋण लिई क्यापिटल मर्चेन्ट तथा फाइनान्स कम्पनी लिमिटेडलाई ९ करोड रुपैयाँभन्दा बढी हानी पुर्याएर फरार रहेका एकजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा काभ्रेपलाञ्चोक पनौती नगरपालिका–६ बस्ने ६७ वर्षीय रामभक्त थापा रहेका छन् ।
केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) का अनुसार थापाले कम्पनीका पदाधिकारी र कर्मचारीहरूलाई प्रभावमा पारी काभ्रे ब्रोइलर सप्लायर्स नामक निजी फर्मको कागजात तयार गरी आठ करोड ५० लाख रुपैयाँ कर्जा लिएका थिए । उनले सो कर्जा दुरुपयोग गरी कम्पनीलाई ९ करोड ७ लाख ६ हजार ३ सय ७८ रुपैयाँ ७४ पैसा बिगो बराबर हानी पुर्याएका थिए ।यस बैंकिङ कसुर मुद्दामा साबिक पुनरावेदन अदालत पाटनले २०७१ साल वैशाख २९ गते फैसला गर्दै थापालाई बैंकिङ कसुर तथा सजाय ऐन २०६४ को दफा १५(२) (घ) बमोजिम ३ वर्ष कैद र बिगो असुल गरी बिगो बमोजिम जरिवाना हुने ठहर गरेको थियो । तर, उनी फरार रही उक्त सजाय बेरुजू रहेको थियो ।
सीआईबीको टोलीले थापालाई शुक्रबार काठमाडौँको कोटेश्वरबाट पक्राउ गरेको थियो । उनलाई फैसला कार्यान्वयनका लागि आइतबार काठमाडौँ जिल्ला अदालतमा पेस गरिएको छ ।