काठमाडौँ । नेपालको अग्रणी भुक्तानी प्रणाली सञ्चालक फोनपे नेटवर्क लिमिटेड र भुक्तानी सेवा प्रदायक सुलभपे (एनक्यास ) वालेटबीच सहकार्य सुरू भएको छ । सोमबार राजधानीमा एक कार्यक्रमको आयोजना गरी फोनपे र सुलभपेबीच भुक्तानी पत्रमा सम्झौता भएको हो ।
सम्झौता पत्रमा फोनपेका तर्फबाट प्रमुख कार्यकारी अधिकृत दिवसकुमार सापकोटा र सुलभपेका तर्फबाट सुलभपे (एनक्याश)का प्रमुख कार्यकारी अधिकृत समल बुढाथोकीले हस्ताक्षर गरे । यो सँगै सुलभ पे प्रालिको एनक्यास पूर्ण स्क्यान भुक्तानी सेवा सुरू गर्ने पहिलो वालेट बनेको छ । एनक्यास प्रयोगकर्तालाई सहज भुक्तानी अनुभव प्रदान गर्न डिजाइन गरिएको हो र फोनपे क्यूआर प्रयोग गर्ने क्षमताको साथ अतुलनीय स्तरको सुविधा प्रदान गर्दछ ।
सम्झौता कार्यक्रममा बोल्दै फोनपेका प्रमुख कार्यकारी अधिकृत दिवसकुमार सापकोटाले सम्झौताले डिजिटल भुक्तानीमा महत्वपूर्ण भूमिका खेल्ने बताए । सापकोटाले सुलभसँगको सम्झौताले नेपाली समाजलाई क्यास लेस बनाउन महत्वपूर्ण भूमिका खेल्ने बताए । यो सहकार्य नेपालको फिनटेक उद्योग र डिजिटल कारोबारमा ठूलो उपलब्धि हुने अपेक्षा गरिएको छ ।
कार्यक्रममा एनक्यास सुलभ पेका प्रमुख कार्यकारी अधिकृत समल बुढाथोकीले भने, ‘हामी फोनपे क्यूआर सुरू गर्न पाउँदा उत्साहित छौँ । जुन हााम्रो प्रयोगकर्ताको आवश्यकता पूरा गर्ने मोबाइल वालेट सिर्जना गर्ने हाम्रो प्रयासको परिणति हो, ‘हामी विश्वास गर्छौँ की फोनपे क्यूआरलगायत एनक्यासद्वारा प्रदान गरिएका स्क्यान र पे सेवाहरूले नेपालमा मानिसहरूले पहिलेभन्दा छिटो, सजिलो र अझ सुरक्षित बनाउनेछ ।’
फोनपेमा हाल ११ लाखभन्दा धेरै क्युआर मर्चेन्ट रहेका छन् । नेपाललाई क्यासलेस बनाउने योजना अनुसार ‘नगद छोडौँ, फोनपे गरौँं’ भन्ने नारासहित तीन वर्षअघि स्थापना भएको फोनपेमा छोटो समयमै आम व्यवसायीको आकर्षण बढेको छ । फोनपे नेटवर्कमार्फत हाल दैनिक करिब ५ अर्बको कारोबार हुँदै आएको छ । वित्तीय क्षेत्रमा फोनपेले बनाएको बाटोले डिजिटल भुक्तानीको क्षेत्रमा ठूलो परिवर्तनसमेत आएको छ ।
फोनपेको सेवा हाल सातै प्रदेशका सबै स्थानीय तहका सबै वडामा पुगिसकेका छन् । गाउँ गाउँसम्म विस्तार भइसकेको फोनपे क्यूआर शहरका अधिकांश पसलमा देखिन थालेका छन् । ग्राहकले पनि नगद बोकेर हिँड्नुको साटो फोनपे मार्फत भुक्तानी गर्न सहज ठानेका छन् ।
नेपाल राष्ट्र बैंकबाट भुक्तानी प्रणाली सञ्चालकको अनुमति प्राप्त फोनपे पेमेन्ट सर्भिस लिमिटेड एफवान सफ्ट ग्रुपको सहायक कम्पनी हो । फोनपेमा अहिले ६० भन्दा बढी बैंक तथा वित्तीय संस्था आबद्ध छन् । एक करोड ७० लाखभन्दा धेरै मोबाइल बैकिङ्ग प्रयोगकर्ता तथा भुक्तानी प्रणाली सेवा प्रदायकका मोबाईल एप्स्मार्फत फोनपेले सेवा पुर्याउँदै आएको छ ।