फोहोर नउठाउने बालेन साहको निर्णयविरूद्ध सर्वोच्चमा रिट

काठमाडौं :काठमाडौं महानगरपालिकाका मेयर बालेन साहको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको छ । सिंहदरबारसहित विशिष्ठ कार्यालयको फोहोर नउठाउने  साहको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको  हो।

वातावरण संरक्षणको क्षेत्रमा काम गर्दै आएका अधिवक्ता पदमबहादुर श्रेष्ठले महानगरपालिका र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारलाई विपक्षी बनाइ रिट दायर गरेका हुन्।

‘काठमाडौं महानगरपालिकाले काठमाडौंको सिंहदरबार क्षेत्रभित्र, राष्ट्रपतिको कार्यालयको क्षेत्र भित्र, प्रधानमन्त्रीको आवास क्षेत्र भित्रको फोहरमैला संकलन नगर्ने कुनै निर्णय गरेको भए उक्त निर्णय उत्प्रेषणको आदेशले बदर गरी पाउँ।’ रिटमा उल्लेख छ।

स्थानीय तहहरुको समन्वयकारी भूमिका निर्वाह गर्नुपर्नेमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले बेवास्ता गरेका कारण तत्काल समन्वयका लागि परमादेशको पनि माग गरिएको छ। उक्त रिटमाथि मंगलबार सुनुवाइ हुने बताइएको छ।

संघीय सरकारले आफूसँग समन्वय नगरेको भन्दै मेयर साहले सिंहदरबार, बालुवाटार शितलनिवास लगायत विशिष्ठ कार्यालयको फोहर नउठाउन फोहर संकलन गर्ने कम्पनीलाई निर्देशन दिएपछि एक सातादेखि फोहर थुप्रिएको छ।