काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको पक्षमा प्रतिनिधि सभामा बहुमत पुग्ने भएको छ । प्रचण्डको पक्षमा बहुमत पुग्न नदिएर नयाँ सरकार बनाउने नेपाली कांग्रेसको प्रयास तत्काललाई असफल भएको छ ।
नयाँ समीकरण बनेपछि नेपाली कांग्रेसले एकातिर प्रतिपक्षमा बस्ने निर्णय गर्यो भने अर्कातिर आफैं सरकार बनाउने प्रयास पनि थालेको थियो । नेपालमा कम्फर्टेबल सरकार चाहनेहरुले कांग्रेसलाई अगाडि सारेर नयाँ सरकार बनाउने प्रयास गरेका थिए ।
नयाँ सरकार बनाउने दौडमा देउवाको साथमा काँधमा काँध मिलाएर कांग्रेस महामन्त्री गगन थापा पनि लाग्नुभएको छ । अहिलेका लागि देउवा फेरि पनि असफल हुनुभएको छ ।
प्रधानमन्त्री प्रचण्डको पक्षमा माओवादी केन्द्रका ३२, एमालेका ७६ सांसदको समर्थन छ । एमालेबाट निर्वाचित भएर सभामुख बन्नुभएका देवराज घिमिरे सरकार निर्माणको प्रकृयाबाट बाहिर बस्नुभएको छ । प्रचण्डको पक्षमा रास्वपाका २० र नेकपा एसका १० सांसद् हुने भएका छन् ।
यो संख्या भनेको प्रतिनिधि सभाको बहुमत अर्थात् एकसय ३८ हो । अब प्रचण्डले प्रतिनिधि सभामा विश्वासको मत पाउने निश्चि जस्तै भएको छ ।
नयाँ समीकरणको पक्षमा खुलेको उपेन्द्र यादव नेतृत्वको जसपा अन्तिम समयमा दायाँवायाँ भएको छ । नागरिक उन्मुक्ती र जनमत पार्टी पनि अन्तिम समयमा वार्गेनिङमा उत्रिएको छ । जसपा, उन्मुक्ती र जनमत तीनवटै पार्टी नयाँ कम्फर्टेबल गठवन्धन बनाउने वैठकमा पनि उपस्थित भएका छन् । तीनवटै पार्टीले मधेस प्रदेशको मुख्यमन्त्री पदमा समर्थन गर्ने भए मात्र प्रचण्ड सरकारलाई समर्थन गर्ने भनिरहेका छन् ।
उपेन्द्र यादवको पार्टी नयाँ समीकरण रचनाको सहमतिपत्र हस्ताक्षरकर्ता पनि हो ।
प्रचण्डको पक्षमा बहुमत पुग्ने निश्चित देखिएमा यी पार्टीहरु सरकारमा जाने नत्र कम्फर्टेबल गठवन्धनतिर लाग्ने आशंका पनि गरिएको छ ।
प्रधानमन्त्री प्रचण्डको पक्षमा बहुमत जुटेको देखिए पनि विश्वासको मत नलिँदासम्म यसै भन्न नसकिने अवस्था रहेको जानकारहरु बताउँछन् ।