बादललाई आजीवन कारावास हाल्न दीपशिखाको आग्रह

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का नेता रामप्रसाद सापकोटा ‘दीपशिखा’ ले नेकपा एमाले उपाध्यक्ष रामबहादुर थापालाई आजीवन कारावास हाल्न आग्रह गरेका छन् ।शुक्रबार बिहान सामाजिक सञ्जाल फेसबुकमार्फत सापकोटाले जनयुद्ध हिंसा नै थियो भन्ने अभिव्यक्ति दिएका थापालाई तुरुन्त गिरफ्तार गरी आजीवन कारावास हाल्न प्रधानमन्त्रीसँग आग्रह गरेका हुन् ।बिहीबार अछाम पुगेका पूर्वमाओवादी नेता समेत रहेका बादल ‘माओवादी जनयुद्ध हिंसा नै हो’ भन्ने अभिव्यक्ति दिएका थिए । सो अभिव्यक्तिको माओवादी समर्थकले विरोध गरेका छन् भने एमाले सर्मकले स्वागत गरेका छन् ।
उनले फेसबुकमा लेखेका छन्, ‘माओवादीका पूर्वनेता रामबहादुर थापा जनयुद्धलाई ‘हिंसा’ भनेका हुन् भने सरकार र प्रधानमन्त्रीलाई मेरो अनुरोध छ, तुरुन्त गिरफ्तार गरी आजीवन काराबास हालियोस् ।’साथै उनले सो जनयुद्ध न्याय र परिवर्तनका लागि वर्ग संघर्ष रहेको बताए । ‘किनभने उनले भनेको हिंसा उनी आफैँ पत्यक्ष संलग्न भएर गरेका हुन्। हामीले त जनयुद्ध गरेका हौँ। त्यो न्याय र परिवर्तनका लागि वर्ग संघर्ष थियो,’ उनले थप उल्लेख गरेका छन् ।