काठमाडौँ : जापानमा हुने बीसौं एशियाली खेलकुद प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्नका लागि विशेष प्रशिक्षण हुने भएको छ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले आइतवार पत्रकार सम्मेलन गरी उक्त खेलकुद प्रतियोगितामा स्वर्णसहित दोहोरो अंकको पदक हासिल गर्ने लक्ष्यसहित कराँते, तेक्वान्दो, बक्सिङ, उसु र जुडो खेलका लागि यही माग १५ गतेबाट असार मसान्तसम्म प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने निर्णय गरिएको परिषद्का सदस्यसचिव टंकलाल घिसिङले बताए।
राष्ट्रिय खेलकुद परिषद् र सम्बन्धित खेल क्षेत्रका निकायसँग छलफल गरी स्वर्ण पदक जित्ने सम्भावना भएका खेलको विशेष प्रशिक्षण सञ्चालन गर्न लागिएको पनि उनले स्पष्ट पारे।
सदस्यसचिव घिसिङले भने, ‘हामीले स्वर्णसहित दोहोरो अंकको पदक ल्याउने लक्ष्य सहित यो विशेष प्रशिक्षण घोषणा गरिएको हो। कुनैपनि अर्गनाइजेशनले आफ्नो कार्यक्रम बनाउँदा आफ्नो लक्ष्य किटान गर्नुपर्छ। त्यो लक्ष्य आज हामीले किटान गरेका छौं।’
प्रशिक्षणमा ५० जना उत्कृष्ट खेलाडीलाई सहभागी गराइनेछ। विशेष प्रशिक्षण अवधिभरका लागि प्रशिक्षणमा संलग्न खेलाडी र प्रशिक्षकको स्वास्थ्य बिमाको पनि व्यवस्था गरिएको परिषद्ले जनाएको छ।