Trending Now

बैंकको चर्को ब्याजदरविरुद्ध विराटनगरका व्यापारीको आन्दोलन काठमाडौँ केन्द्रित

विराटनगर । विराटनगरका व्यापारीले काठमाडौँ केन्द्रित आन्दोलन सुरु गरेका छन् ।

विराटनगरमा लामो समयदेखि आन्दोलन गर्दै आएका विराटनगरका व्यापारी काठमाडौँमा पुगेर आन्दोलन थालेका हुन् । लामो समयदेखि बैंकको ब्याजदर घटाउनु पर्ने माग सहित प्रधानमन्त्री, अर्थमन्त्री तथा राष्ट्रबैंकका गभर्नरलाई समेत भेटेर समस्या समाधान गरिदिन आग्रह गरेका ब्यापारीले काठमाडौँमा गएर सडक आन्दोलन सुरु गरेका हुन् ।

मोरङ व्यापार संघको अगुवाइमा सुरु भएको आन्दोलनमा व्यापारीले तत्काल अहिले देखिएको समस्या समाधान गर्न माग गरेका छन् । मोरङ व्यापार सङ्घका अध्यक्ष नवीन रिजालले विना जानकारी बैंकहरुले बैंकको ब्याजदर बढाएको बताए ।

‘सरकारले पहिलाको अवस्थामा नै बैंकको ब्याजदर कायम गर्नुपर्छ भन्ने हाम्रो माग हो, उनले भने, एकल अंकमा संस्थागत ब्याजदर झार्नु पर्छ भन्ने हो ।’

आम्दानी कमाउने संस्थालाई १२ प्रतिशत ब्याजदर लिन पाउने व्यवस्था गरिएको भन्दै उनले आक्रोश व्यक्त गरे । डिपोजिटको अथोराइजेशनको कुरा उठाएर भ्रममा पार्न खोजिएको बताए । व्यापारीको आन्दोलनलाई दबाउनको लागि डिपोजिटको अथोराइजेशनको कुरा उठाइएको उनले सुनाए ।

‘बैंकको सावाँ ब्याज तिर्नु पर्छ समयमा नै तिर्नु पर्छ भन्ने हाम्रो माग हो, उनले भने, हामीले कहिल्यै पनि बैकको ब्याजदर तिर्दैनौँ, साँवा तिर्दैनौँ भनेका छैनौँ, हामीले यति भनेका छौँ, हामीलाई बैंकको ब्याजदर बढी भयो त्यसलाई घटाउ मात्र भनेको हो ।’

माइतीघर मण्डलामा धर्ना दिन पुगेका व्यवसायीले सरकारले व्यवसायीमारा नीति लिएको बताए । मोरङ व्यापार सङ्घका पूर्व अध्यक्ष प्रकाश मुण्दडाले अहिलेको महँगो ब्याजदरका बिच उद्योग चलाउन नसक्ने अवस्था आएको बताए । हामी खुला सिमानामा बसेर १३–१४ प्रतिशत ब्याज तिरेर उद्योग चलाउन सक्छौँ ? सक्दैनौँ, उनले भने, सरकारलाई हाम्रो चुनौती यही अवस्थामा एउटा उद्योग चलाएर देखाओस् ।’

Comments are closed.