भारतीय दूतावासले सिधैं २० करोड बाँड्ने कुरा खेदजनक छ, मान्य हुँदैन : ईश्वर पाेखरेल

काठमाडाैं ।  नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पाेखरेलले भारतीय दूतावासले सिधैं २० करोड वितरण गर्नेगरी गरिएकाे सहमति खेदजनक रहेकाे बताउनुभएकाे छ ।

आइतबार काठमाडाैंकाे चाबहिलमा आयाेजित सेताे छडी वितरण कार्यक्रमलाई सम्बाेधन गर्दै वरिष्ठ उपाध्यक्ष पाेखरेलले नेपालमा भारतले २० करोड सिधैं खर्च गर्न पाउनेगरी गरिएकाे सम्झाैता एमालेलाई मान्य नहुने चेतावनी दिनुभयाे । उहाँले भन्नुभयाे – ‘याे सहमति राष्ट्रिय हित विपरीत हाे, राष्ट्रिय स्वाभिमान र स्वतन्त्रतामा आँच पुग्ने कुरा हो, भारतको मात्रै कुरा होइन कुनैपनि देशले सहयोग गर्छ भने स्वागत गर्छाैं, तर त्यो सहयोग  हाम्राे बजेट अन्तर्गत वितरण गर्नुपर्छ, सिधा दूतावासले वितरण गर्ने कुरा खेदजनक छ, त्यो मान्य हुन सक्दैन ।’

वरिष्ठ उपाध्यक्ष पाेखरेल राष्ट्रकाे बजेट अन्तर्गत नसमेटिने याेजनामा सहमति गर्नु षड्यन्त्रमूलक रहेकाे बताउनुभयाे । उहाँले भन्नुभयाे – ‘एउटा छिमेकी मुलुकका परराष्ट्रमन्त्री आउँछन्, हिजो कुनै बेला ३ करोड वितरण गर्दथ्यो राजदूतावासले, त्यसपछि ५ करोड वितरण गर्ने कुरा प्रारम्भ गरियो, अहिले २० करोड पुर्‍याइएको छ, त्यो हाम्रो राष्ट्रको बजेटअन्तर्गत होइन, बजेटको अंग बनाएर होइन, अब कुनैपनि मुलुकको राजदूतावासले नेपाल भित्र आएर पैसा वितरण गर्ने र आफ्ना मान्छे बनाउने योजनाको डरलाग्दो षड्यन्त्रपूर्ण योजना बनाइएको छ, नेकपा एमाले त्यो सहमति र सम्झौताको विरोध गर्दछ र त्यसमा असहमति प्रकट गर्दछ, यो राष्ट्रिय हितको विपरीत हो ।’

भारतसँग गरिएका सम्झाैताबारे एमालेले प्रमुख प्रतिपक्षी दलसँग कुनै छलफल नगरेकाे वरिष्ठ उपाध्यक्ष पाेखरेलले प्रष्ट पार्नुभयाे । उहाँले भन्नुभयाे – ‘हामीसँग कुरा भएकाे छैन, प्रधानमन्त्रीले आफ्नाे षड्यन्त्रकाे तानाबाना अन्तर्गत याे गरेका छन्, यसकाे निन्दा र भर्त्सना गर्न चाहान्छु ।’

राष्ट्रिय स्वाभिमान र स्वतन्त्रताकाे पक्षमा एमाले सधैं खराे उत्रिने भन्दै वरिष्ठ उपाध्यक्ष पाेखरेलले याे देशलाई अगाडि बढाउन, राष्ट्रिय स्वाभिमान र स्वतन्तताकाे विषयलाई कमजाेर हुन नदिनका लागि एमाले द‍ृढतापूर्वक उभिने बताउनुभयाे ।

एमालेले सरकार छाडेपछि राष्ट्रिय स्वतन्त्रता र स्वाभिमान कमजाेर बनेकाे उहाँले बताउनुभयाे । विदेशीले अतिक्रमण गरेकाे भूमि फिर्ता लिनुपर्छ भनेर एमालेले सबै शक्तिलाई एक ठाउँमा उभ्याएर, लिपुलेक, कालापानी र लिम्पियाधुरालाई नयाँ नक्सामा सामेल गर्दै कूटनीतिक पहल गरेर साे भूमि फिर्ता ल्याउनुपर्छ भनेर एमालेले काम गरेकाे स्मरण गर्नुभयाे ।

तर अहिलेकाे गठबन्धन सरकार र त्यसका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड यसबारे चुँ नबाेलेकाे भन्दै उहाँले आपत्ति जनाउनुभयाे । वरिष्ठ उपाध्यक्ष पाेखरेलले भन्नुभयाे – ‘अहिलेको गठबन्धनको सरकार, त्यो गठबन्धनलाई नेतृत्व गर्ने प्रधानमन्त्री छिमेकी मुलुकमा भ्रमण गर्न जाँदा त्यसबारेमा चुँ सम्म पनि बोल्न सक्नुहुन्न, एक शब्द बौल्दैनन्, हाम्रो अतिक्रमित भूमि फिर्ता लिनुपर्छ भन्ने कुरामा कूटनीतिक पहल र प्रयत्न पनि गर्दैनन्, त्यस्तो एउटा निर्लज्ज र कायर खालको भुमिका उनले खेलिरहेका छन्, हामी त्यसको निन्दा र भर्त्सना गर्न चाहन्छौं ।’

एमाले सरकारमा नभएकाे माैका पारेर देशमा विग्रह ल्याउने र देशलाई बर्बाद पार्ने काम भइरहेकाे भन्दै उहाँले आपत्ति जनाउनुभयाे ।