भारी वर्षाका कारण ए डिभिजन लिगका तीनवटै खेल स्थगित

काठमाडौं । काठमाडौं उपत्यकामा भारी वर्षासँगै शनिवारलाई तय भएका शहीद स्मारक ए डिभिजन लिगका खेल प्रभावित भएका छन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको हिमालयन शेर्पा र त्रिभुवन आर्मीबीचको खेल पहिलो हाफ सकिए पनि दोस्रो हाफको २७ मिनेट पछि भारी वर्षा र चट्याङ भएपछि खेल स्थगित भएको हो ।

आर्मी र हिमालयन शेर्पाबीचको खेल दोस्रो हाफको २७ मिनेट चलिरहँदा दुवै टोलीले एक/एक गोल गरेका थिए । खेलमा आर्मीका नवयुग श्रेष्ठले पहिलो मिनेटमा गोल गर्दै हिमालयन शेर्पाविरुद्ध अग्रता दिलाएका थिए ।

तर दोस्रो हाफको ५५औं मिनेटमा हिमालयन शेर्पाका कप्तान विश्वास श्रेष्ठले फ्रिकिकमार्फत  गोल गर्दै खेल बराबरीको अवस्थामा ल्याएका थिए । ७२ औं मिनेटपछि भारी भएपछि खेल अर्को समयका लागि तय गरिएको छ । अब दुईटोली आइतबार खेल हुनेछ । आइतबार ७२ मिनेटपछि खेल खेलाइनेछ । खेल दशरथ रंगशालामा दिउसो ४:३० बजेबाट सुचारु हुनेछ ।

लिग अन्तर्गत शनिबारकै अर्को खेल संकटा र जाउलाखेल युथ क्लवको खेल पनि वर्षाका कारण स्थगित भएको छ । पहिलो हाफको नतिजाबाट जावलाखेल १–० ले अगाडि रहेको थियो ।