भिजिट भिसामा मानव तस्करी: सरकारी कर्मचारीसहित १२ जना पक्राउ

काठमाडाैं । नक्कली कागजातका आधारमा सेटिङ मिलाई भिजिट भिसामा विदेश पठाई मानव तस्करीमा सघाएको अभियोगमा १२ जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा रुकुम सानीभेरी गाउँपालिका-१० का ३८ वर्षीय नरवीर खड्का, सर्लाही विष्णु गाउँपालिका-६ का ३१ वर्षीय अरविन्द्र यादव र झापा कमलादी गाउँपालिका-२ का ४२ वर्षीय होम पोखरेल छन् ।

महोत्तरी जलेश्वर नगरपालिका-२ का ३० वर्षीय मनुराज चौधरी, स्याङ्जा चापाकोट नगरपालिका-१० का ३६ वर्षीय राम प्रसाद भण्डारी, गुल्मी सत्यवती गाउँपालिका-५ का ३४ वर्षीय दिनेश ज्ञावली, सिरहा मिर्चैया नगरपालिका-१२ का २७ वर्षीय सरोज कुमार यादव, मोरङ उर्लाबारी नगरपालिका-५ का ५१ वर्षीय देवराज खनाल पनि पक्राउ परेका छन् । भिजिट भिसामा विदेश पठाई मानव तस्करीमा सघाएकाे आराेपमा अर्घाखाँची पाणिनी गाउँपालिका-८ का ३५ वर्षीय गणेश पाण्डे, सिन्धुपाल्चोक लिसंखुपाखा-७ का ३० वर्षीय सञ्जय तामाङ, काठमाडौं महानगरपालिका-३२ का ५३ वर्षीय राज किशोर शाह र स्याङजा वालिङ गाउँपालिका-६ का २५ वर्षीय रविन अर्याल पनि पक्राउ परेका छन् ।

पक्राउ परेकामध्ये नरविर अध्यागमन विभागका तथा अरविन यादव र होम पोखरेल नेपाल एयरलाइन्सका कर्मचारी हुन् ।

भिजिट भिसामा विदेश ‍जान लागेका युवा युवतीका शंकास्पद कागजात त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयबाट प्राप्त हुन आएपछि प्रहरीले अनुसन्धान थालेकाे थियाे । त्यसक्रममा एजेन्ट, कन्सलटेन्सी, ट्राभल एजेन्सीहरुले एयरलाइन्सलाई प्रतिव्यक्ति १० देखि १५ हजार र अध्यागमनलाई प्रतिव्यक्ति ४० देखि ५५ हजार सेटिङ मिलाई पठाउने गरेको खुल्न आएपछि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरीले उक्त सेटिङमा संलग्न एजेन्ट, ट्राभल्स, एयरलाइन्स र अध्यागमनका कर्मचारीलाई विभिन्न मितिमा पक्रेको हो ।

उक्त कार्यालयबाट गत असोज १५ गतेदेखि हालसम्म १ हजार ५१३ थान शंकास्पद कागजात आएकामध्ये +2 सर्टिफिकेट, श्रम, नाता प्रमाणित, प्रहरी रिपोर्ट र बैंक स्टेटमेण्ट गरी २ सय ४६ थान कागजात नक्कली देखिएको थियो ।

उनीहरूलाई लिखत सम्बन्धी कसुर समेतका अपराधमा आवश्यक अनुसन्धान तथा कारवाहीको लागि विभिन्न प्रहरी कार्यालयमा पठाइएको छ । यस प्रकरणमा अहिलेसम्म ३२ जना पक्राउ परिसकेका कार्यालयले जनाएकाे छ ।