भ्रष्टचार मुद्दामा सांसद गुरुङलाई झण्डै साढे २ करोड जरिवाना, अरुलाई कैद पनि तोकियो

भ्रष्टाचारको मुद्दामा दोषी ठहर भएका नेपाली कांग्रेसका सांसद एवम् पूर्वमन्त्री टेकबहादुर गुरुङले २ करोड ४३ लाख ६८ हजार जरिवाना तिर्नु पर्ने भएको छ।

बिहीबार सजाय निर्धारण गर्दै विशेष अदालतले गुरुङलाई एक करोड २१ लाख ८४ हजार रूपैयाँ जरिवाना र सोही बराबर विगो भराउने सजाय सुनाएको हो।

भृकुटीमण्डपस्थित फनपार्कको जग्गा सस्तोमा भाडामा दिएर भ्रष्टाचार गर्न मतियारको भूमिका निर्वाह गरेको विशेष अदालतले गतसाता ठहर गरेको थियो।

विशेष अदालतका अध्यक्ष श्रीकान्त पौडेल, सदस्य शालिग्राम कोइराला र बलभद्र बास्तोलाको इजलासले गुरुङसहित ९ जनालाई दोषि ठहर गरेको हो।

तर गुरुङले मतियारको मात्रै भूमिका निर्वाह गरेको भन्दै उनलाई भने कैद सजाय तोकिएको छैन। सोही मुद्दामा पूर्वमन्त्री
बद्री न्यौपानेलाई भने साढे ९ वर्ष कैदको फैसला भएको छ। जरिवाना र बिगो रकम पनि गुरुङलाई भन्दा बढी तोकिएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०७५ माघ २१ गते निलम्बित सांसद गुरुङसहित १४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको थियो।

भृकुटीमण्डपको ६० रोपनी जग्गा प्रतिमहिना ५ लाख ५५ हजार रुपैयाँ भाडामा १० वर्षका लागि फनपार्कलाई दिने निर्णयमा गुरुङ पनि संलग्न देखिएका हुन्।

मनाङबाट निर्वाचित सांसद गुरुङ यही मुद्दाका कारण निलम्बनमा छन्।

यस्तै बद्री न्यौपानेलाई ९ वर्ष ६ महिना कैद, २ करोड ४३ लाख ६८ हजार ८ सय ३ रुपैयाँ ५० पैसा जरिवाना र त्यति नै रकम बिगो बापत असुल गर्ने फैसला भएको विशेष अदालतका सूचना अधिकारी नारदप्रसाद अतिवडाले जानकारी दिए।

प्रमोद मेहतालाई ८ वर्ष ६ महिना कैद र न्यौपानेलाई जतिनै विगो र जरिवाना, कुन्जव चौधरीको भने मृत्यु भइसकेकाले कैद र जरिवाना तोकिएको छैन। तर उनको सम्पत्तिबाट अरुलाई जति नै विगो भराउने फैसला भएको छ।

हरि न्यौपाने, मोहनराज शर्मा र मदनकुमारलाल कर्णलाई ८ वर्ष कैद र अरुलाई जति नै विगो र जरिवानाको फैसला भएको छ।

रविन्द्रकुमार यादवलाई ९ वर्ष कैद र विगो तथा जरिवाना अरुलाई जति नै भराउने फैसला भएको भट्टराईले जानकारी दिए

Comments are closed.