काठमाडौं । भ्रष्टाचार हुने देशहरूको सूचीमा नेपाल १०८औँ स्थानमा परेको छ ।ट्रान्सपरेन्सी इन्टरनेसनल नेपालले आज सार्वजनिक गरेको भ्रष्टाचार अवधारणा सूचकांक (सीपीआई) २०२३ मा १०० मा ३५ अंक पाएर नेपाल १०८औँ स्थानमा परेको हो ।१८० देशमध्ये नेपाल यो स्थानमा पुगेको हो । २०२२ मा नेपाल ३४ अंकसहित १००औँ स्थानमा थियो ।सूचकांकमा यस वर्षको औसत अंक ४३ रहेको छ । एसिया प्रशान्त क्षेत्रको औसत स्कोर ४५ रहेको छ । विश्वका दुई तिहाई मुलुकले ५० भन्दा कम अंक पाएका छन् । यसले ती देशमा भ्रष्टाचार गम्भीर समस्याको रूपमा रहेको उल्लेख गरिएको छ ।
गत वर्षको तुलनामा नेपालको अंकमा यस वर्ष केही सुधार भए तापनि भ्रष्टाचार व्याप्त मुलुकहरूको श्रेणीमै यस वर्ष पनि नेपाल कायमै रहेको छ ।यसैगरी सीपीआई २०२३ मा दक्षिण एसियाली राष्ट्रहरूमध्ये भुटानले ६८ अंक (२६औँ), भारतले ३९ (९३औँ) माल्दिभ्सले ३९ अंक (९३औँ), श्रीलंकाले ३४ अंक (११५औँ), पाकिस्तानले २९ अंक (१३३औँ), बंगलादेशले २४ अंक (१४९औँ) र अफगानिस्तानले २० अंक (१६२औँ) प्राप्त गरेका छन् । छिमेकी मुलुक चीनले ४२ अंक (७६औँ) प्राप्त गरेको छ ।