मिटरब्याज पीडितहरु भन्छन् – सरकारले न्याय नदिएसम्म घर फर्किँदैनौं

काठमाडाैं । लघुवित्त पीडित, मिटरब्याज पीडित र सहकारी पीडितहरुले सरकारले न्याय नदिएसम्म घर नर्फकने बताएका छन् ।
शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा उनीहरुले सरकारले न्याय नदिएसम्म घर नफर्कने बताएका हुन् । मिटरब्याज तथा ठगी विरोधी किसान संघर्ष समिति नेपालका अध्यक्ष अवधेश कुशवाहले आफूहरु न्यायका पाउनका लागि ३ वर्षदेखि निरन्तर आन्दोलन गरिरहेको बताउनुभयो ।
मिटरब्याज पीडितहरु लाखौंको संख्यामा रहेको र उनीहरुले आफ्नो उजुरी दर्ता गराउन नपाउँदै उक्त समस्या छानबिनका लागि बनेको आयोगको म्याद सकिएको उहाँले बताउनुभयो । सरकारले तत्काल आयोगमार्फत उजुरी दर्ता प्रक्रिया खुल्ला गराउन पर्ने, पक्राउ पुर्जी, निषेधाज्ञा खारेज हुनुपर्ने र वडामा दर्ता भएको फर्जी तमसुकहरु अवैध घोषणा हुनुपर्ने माग कुशवाहले गर्नुभयो । पीडकहरुले घटाएको हिंसा, हत्या, बलात्कारलगायत घटनाहरु छानबिन गरी उचित दण्ड सजायको व्यवस्था गरिनुपर्ने माग पनि उहाँले गर्नुभयाे ।
मिटरब्याज पीडित शिलादेवी ठाकुरले आफूले पटक-पटक गरी ३ लाख ऋण लिएकोमा ३०औं लाख ब्याज जोडेर साहुकारले दुःख दिएको बताउनुभयो । ऋण लिएको भन्दा साहुकारले चार गुणा बढाएर कागज गराएको र जति तिर्दा पनि नसकिएको उहाँले बताउनुभयो ।
सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियानका अध्यक्ष कुशलव केसीले सहकारी पीडितहरुको पक्षमा आफूहरुले ६३ दिन आन्दोलन गरेको बताउनुभयाे । आन्दोलनका क्रममै भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री रञ्जिता श्रेष्ठ प्रदर्शनस्थलमै आएरपश्चात ७ बुँदे सहमति भएको उहाँले बताउनुभयो ।