“मिराज“ कथा संग्रहको लोकार्पण

 

काभ्रेका साहित्यकार ध्रुबकृष्ण ताम्राकारको “मिराज“ नामक कथा संग्रहको लोकार्पण गरिएको छ । सो कथा  सङ्ग्रहको लोकार्पण ललित कला प्रज्ञा प्रतिष्ठानका कुलपति तथा कार्यक्रमका प्रमुख अतिथि  के के कर्माचार्य, साहित्यकार सूर्य लाकोजू र कथाकार ध्रुब ताम्राकारले संयुक्त रूपमा विमोचन गर्नु भएको थियो  ।

प्रमुख अतिथि के के कर्माचार्यले कथा मिराज कथा संग्रह एक पठनीय कृति भएको बताउनुभयो । एक प्रसङ्गमा उहाँले कथा समाजका लागि लेखिने भएकोले कथाले समाजमा घट्ने घटनाहरूलाई सजिव ढङ्गले प्रस्तुत गर्नुपर्ने बिचार व्यक्त गर्नु भयो ।  त्यस्तै साहित्यकार सूर्य लाकोजूले पुस्तकका बारेमा आफ्नो विचार व्यक्त गर्दै कथाहरू पठनीय रहेको बिचार व्यक्त गर्नुभयो । उहाँले कथाहरू समाजमा भएका वास्तविक घट्नाहरूमा आधारित रहेकाले कथा पढ्दै जाँदा तपाईं हामीले देखेका, भोगेका कुराहरू भेटिएको आभास मिल्ने बताउनु भयो ।

मिराजमा एघार ओटा कथाहरू सङ्ग्रहित छन्  । कथाहरू यथार्थपरक रहेका छन्  । सर्जक ताम्राकारको यसभन्दा अगाडि ’प्रारम्भ’ र ’हृदयका उदगार’  गरी दुई कविता संग्रह, ’भावनाका उत्सर्ग’ गीत सङ्ग्रह,  ’स्पन्दन’ मुक्तक सङ्ग्रह र ’आँसुको कथा’ कथा संग्रह प्रकाशित छन्  ।

कार्यक्रममा साहित्यकार तुयुकाजी ताम्राकार, विजयराम कर्माचार्य, कवि रामसुन्दर देउजा, उद्योग वाणिज्य संघ काभ्रेका अध्यक्ष राजेन्द्र पसक्षे, गीता दाहाल लगायतले मन्तव्य  दिनुभएको थियो  ।