मुम्बईमाथि लखनउको रोमाञ्चक जित

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) टीट्वान्टी क्रिकेट प्रतियोगिताको मंगलबार राति भएको खेलमा लखनउ सुपर जाइन्ट्सले मुम्बई इन्डियन्समाथि ५ रनको रोमाञ्चक जित हासिल गरेको छ । जितसँगै लखनउले प्रतियोगिताको प्लेअफ चरणमा पुग्ने सम्भावना कायमै राखेको छ ।

महत्वपूर्ण खेलमा हारपछि मुम्बईको प्लेअफ चरणमा पुग्ने सम्भावनामा भने धक्का लागेको छ । १३ खेलबाट १४ अंक बटुलेको मुम्बई तालिकाको चौथो स्थानमा छ । अब मुम्बईले अन्तिम खेलमा जित हासिल गर्नेपर्ने हुन्छ भने त्यसपछि अन्य खेलको नतिजामा पनि भर पर्नुपर्ने हुन्छ ।

जितसँगै लखनउ अंक तालिकाको तेस्रो स्थानमा उक्लिएको छ । लखनउले १३ खेलबाट १५ अंक बटुलेको छ । अब लखनउ र मुम्बई दुबैले लिग चरणमा १—१ खेल खेल्न बाँकी छ । हालसम्म गुजरात टाइटन्समात्र प्रतियोगिताको प्लेअफ चरणमा पुगेको छ । दिल्ली क्यापिटल्स र सनराइजर्स हैदराबाट भने उपाधि होडबाट बाहिरिइसकेका छन् ।

घरेलु मैदानमा भएको खेलमा लखनउले टस हारी पहिलो ब्याटिङको निम्तो पाएको थियो । लखनउले निर्धारित ओभरमा ३ विकेट गुमाएर १ सय ७७ रन बनायो । जवाफी ब्याटिङमा ओर्लिएको भ्रमणकारी टोली मुम्बईले भने निर्धारित ओभरमा ५ विकेट गुमाएर १ सय ७२ रनमात्र बनाउन सक्यो ।

लखनउको जितमा मार्कुस स्टोइनिस र कप्तान क्रुनाल पाण्ड्याले उत्कृष्ट ब्याटिङ गरे । स्टोइनिसले टोलीको जितमा अविजित ८९ रनको योगदान गरे । सुरुदेखि नै आक्रामक रुपमा प्रस्तुत भएका उनले ४७ बलको सामना गरी ८ छक्का र ४ चौका पनि हिर्काए ।

यसैगरी कप्तान क्रुनाल पाण्ड्याले टोलीको खातमा ४९ रन थपे । उनले ४२ बलको सामना गरी १ छक्का र १ चौका प्रहार गरे । उनी रिटार्ट हर्ट भई मैदानबाट बाहिरिएका थिए । स्टोइनिस र क्रुनालले चौथो विकेटका लागि ८२ रनको साझेदारी गरेका थिए ।

ओपनर ब्याट्सम्यान क्विन्टन डे ककले पनि १६ रन बनाए । अर्का ओपनर दीपक हुदा भने ५ रनमै पेभेलियन फर्किएका थिए । निकोलस पुरन ८ रनमा अविजित रहे । मुम्बइका बलर जासन बेहरनडोर्फले २ र पियुष चावलाले १ विकेट लिए ।

जवाफी ब्याटिङमा ओर्लिएको मुम्बईका लागि ओपनर ब्याट्सम्यान इशान किसनले सर्वाधिक ५९ रन बनाए । विकेटकिपर ब्याट्सम्यान इशानले ३९ बलको सामना गरी १ छक्का र ८ चौका प्रहार गरे । कप्तान रोहित शर्माले पनि ३७ रन बनाए । उनले २५ बलको सामना गरी ३ छक्का र १ चौका हिर्काएका थिए ।

इशान र रोहितले ओपनिङ विकेटका लागि ९० रनको साझेदारी गरेका थिए । पाँचौं नम्बरमा क्रिज समाल्न आएका टिम डेविडले अविजित ३२ रन जोडे । उनले १९ बलको सामना गरी ३ छक्का र १ चौका प्रहार गरे ।

अन्तिम समयमा लखनउका लागि बलर मोहसिन खान नायक बने । उनले १ विकेट लिए पनि त्यो टोलीको जितका लागि महत्वपूर्ण विकेट थियो । जिततर्फ अग्रसर रहेको मुम्बईका ब्याट्सम्यानलाई दबाबमा राख्दै उनले अन्तिम ओभरमा ५ रनमात्र दिए । लखनउका अन्य बलर यश ठाकुर र रवी बिश्नोइले २÷२ विकेट लिए । उक्त खेलमा मुम्बईका स्टोइनिस म्यान अफ दि म्याच घोषित भए ।

Comments are closed.