मुलुकको अवस्थामा परिवर्तन भएन भन्नेकुरा सही होइन : केपी ओली

काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकको अवस्थामा परिवर्तन भएन भन्नेकुरा सही नभएको बताएका छन् ।

राष्ट्रिय प्रजातन्त्र पार्टीले अवस्था परिवर्तन नभएको भन्दै व्यवस्थाको विकल्प खोजिरहेका बेला उनले सो कुरामा कुनै सत्यता नरहेको प्रतिक्रिया दिएका हुन् । मोतीदेवी स्मृति केन्द्रले शनिवार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले अहिले ४० प्रतिशतको हाराहारीमा महिला जनप्रतिनिधिहरू रहेको उल्लेख गर्दै विगतमा त्यस्तो थियो रु भनी प्रश्न समेत गरे ।

उनले ३३ प्रतिशत महिलाहरू संसद र सरकारी निकायमा प्रतिनिधित्व संविधानमै सुनिश्चित भएको दृष्टान्त पेस गर्दै अहिले विगतमा भन्दा तुलना नै गर्न नसक्ने गरी जनताको अवस्था राम्रो भएको तर्क गरे । ओलीले जनताको अवस्थालाई पूर्ण रुपमा राम्रो बनाउने गरी काम गर्नुपर्ने जिम्मेवारी पनि आफूहरूको काँधमा रहेको बताए ।

उनले भने ‘एउटा अलि चर्चा चल्ने गरेको छ कि व्यवस्था परिवर्तन भयो, अवस्था परिवर्तन भएन भन्ने कुरा होइन । त्यस्तो हल्ला चल्ने गरेको छ । तर, अवस्थामा परिवर्तन आएको छ । अलि वर्ष अघिसम्म के थियो अवस्था ? अगाडि बढेको बहिनीहरू उहाँहरू मन्त्री भईसक्नु भएको छ । माननीय भइसक्नु भएको छ । नेता भइसक्नुभएको छ । पहिले पनि त्यस्तै थियो र समय ? व्यवस्था परिवर्तन भयो, अरुथोक केही भएन ? आज ४० प्रतिशत महिलाहरू सम्पूर्ण जनप्रतिनिधिमा ४० प्रतिशत महिलाहरू जनप्रतिनिधि छन् विभिन्न ठाउँहरूमा । यसमा अनेमसंघको अग्रणी भुमिका छ । महिला दिदीबहिनीहरूको भुमिका छ । ३३ प्रतिशत सरकारी क्षेत्रमा व्यापक कार्यान्वयन गरिएको छ । संसदमा कार्यान्वयन गरिएको छ । अरु ठाउँहरूमा, जागिरहरूमा आरक्षण गरिएको छ । यसमा कतिपय कुराहरू झन्डै झन्डै ३३ प्रतिशत महिलाहरू भनेपछि ठ्याक्कै त्यसैमा रोकिदिने खालको बनेको छ । अहिले नै पनि हामीले संसदमा ३० प्रतिशत भनेपछि ३० प्रतिशत भनेपछि अर्कोको कतिकति प्रतिशत भनेर जानुपर्ने र त्यसबाट भयो भने त ठिकै छ । तर त्यहाँ महिलाको छुट्टै छ । समानुपातिकमा पनि आरक्षण गर्दा यसमा महिला, पुरुष भनेर तोकितोकी गरिएको छ । जसले गर्दा कम्तीमा यति महिला भन्दा हुन्थ्यो, ठ्याक्कै त्यति भन्दा त्यो भन्दा बढी बढाउने ठाउँ हुँदैन । त्यस्तो खालको बनेको छ । यो हामीले गरेको कुरा होइन, यसलाई सच्याउनु पर्छ । न्यूनतम ३३ प्रतिशत । अव सामान्यतया सशक्तीकरणको बाटोबाट यसलाई बढाउँदै लगेर बराबरी पुर्याउने बाटोमा जानुपर्छ । अवस्था परिवर्तन भएको छ । अवस्था फेरिएको छ । अवस्था पहिले भन्दा तुलना नै गर्न नसक्ने गरी राम्रो भएको छ । यसलाई अझ पूर्ण रुपमा राम्रो अवस्थामा पुर्याउने हाम्रो अगाडि जिम्मेवारी छ । र म हाम्रो पार्टीको तर्फबाट पनि भन्न चाहन्छु कि हाम्रो पार्टी यस आन्दोलनमा अग्रणी स्थानमा रहेको छ । संविधान निर्माणमा, कानुन निर्माणमा, अग्रणी स्थानमा रहेको छ । महिला सशक्तीकरणका लागि, जागरणका लागि, महिलाको हिस्सेदारीका लागि, महिला आरक्षणका लागि, सबै कुरामा हाम्रो पार्टी अग्रभागमा रहेको छ । त्यसअर्थ म फेरि पनि भन्न चाहन्छु–यो सामाजिक न्याय र समानताको आन्दोलनमा मेरो पार्टी नेकपा एमाले यो सदैव अग्रस्थानमा नै रहनेछ । ’

अध्यक्ष ओलीले महिलाहरूलाई सशक्तीकरणको बाटोबाट पुरुष सरह अधिकार दिलाउने कुरामा आफ्नो पार्टी लागिपर्ने समेत बताए ।