काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड ले मुलुकमा स्थापित राजनीतिक परिवर्तनलाई संस्थागत गर्नु अहिले हामी सबैको दायित्व भएको बताउनुभएको छ । नेपाल रिपब्लिक मिडिया १५ औं वर्ष प्रवेशका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले उक्त कुरा बताउनुभएको हो ।
सो अवसरमा प्रधानमन्त्रीले भन्नुभयो, ‘हिजो संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनाका लागि जसरी पत्रकारिता र राजनीतिक क्षेत्रबीच सहकार्य भयो, मुलुकको संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थालाई सुदृढ गर्न आज पनि हामीबीच त्यस्तै सहकार्य आवश्यक छ । पछिल्ला दिनमा परिवर्तनलाई उल्ट्याउन चाहने तत्वहरू सल्बलाउन थालेकाले यसप्रति पनि हाम्रो सतर्कता जरुरी भएको छ ।’
उहाँले लोकतन्त्र पारदर्शी र जनताप्रति जवाफदेही शासन प्रणाली भएको उल्लेख गर्दै अझ सशक्त, कामकाजी र जनताप्रति प्रतिवद्ध बनाउन संचार क्षेत्रको सधै रचनात्मक आलोचना आवश्यक रहेको बताउनुभयो ।
प्रधानमन्त्रीले सञ्चार माध्यम आम नागरिक र सरकारका समेत आँखा र कान भएको बताउनुहुँदै यसले गरिहेको काममा कुनै कमजोरी भएमा यसले सच्याउन मद्दत गर्ने बताउनुभयो। राज्यका विभिन्न निकाय एवम् राजनीतिक दललाई समेत सञ्चार क्षेत्रले घच्घच्याउँदै आएको उहाँको भनाइ थियो ।