म थाकेको छैन, फेरि कांग्रेस संसदीय दलको नेता बदल्न लाग्छु : गगन थापा

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आफू वा आफ्नो पुस्ताको व्यक्ति प्रधानमन्त्री बन्नु अहिले देशको आवश्यकता भएको बताएका छन् । ​शनिवार काठमाडौंमा भएको एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले सके आफू र नसके आफ्नो पुस्ताको व्यक्तिलाई प्रधानमन्त्री बनाउन लाग्ने बताए ।

नेपालमा भावी प्रधानमन्त्रीबारे पहिल्यै थाहा हुने गरेको भन्दै अब पूर्व प्रधानमन्त्रीहरूलाई पुनः प्रधानमन्त्री बन्नबाट रोक्नुपर्ने उनले बताए । आफू अब पनि पार्टीको संसदीय दलको नेता बदल्न लाग्ने उनको भनाइ छ ।

संसदीय दलको नेता बनेर प्रधानमन्त्री बन्ने कुरा दलभित्रैबाट सम्भव भएकाले त्यसमा लागिपर्ने उनले बताए । ‘नेपालमा प्रधानमन्त्री भूतपूर्व क्लबकै हुनेजस्तो भयो । अब यो कुरा बदल्न जरुरी छ । एमाले-माओवादीले कसरी बदल्छन् त्यो उहाँहरूको कुरा हो,’ उनले भने, ‘हामी कांग्रेसमा छौं, त्यसैले यसलाई बदल्ने प्रयास गर्नैपर्छ । म थाकेको र हारेको छैन । फेरि कांग्रेस संसदीय दलको नेता बदल्ने कुरामा लाग्छु । सके बदलेर आफू बन्छु, नसके अर्कोलाई बनाउँछु। त्यो बदलिनपर्छ । अहिलेको आवश्यकता म वा मेरो पुस्ताको मान्छे प्रधानमन्त्री बन्ने कुरा छ ।’

महामन्त्री थापाले कांग्रेसले मिसन २०८४ नभइ २०८० र २०८१ को शुरू गर्न जरुरी रहेको उनले बताए ।