युरोप पठाउने भन्दै बंगलादेशी नागरिकलाई नेपाल ल्याएर बन्धक:बंगाली नागरिकहरु पक्राउ

युरोप पठाउने भन्दै बंगलादेशी नागरिकलाई नेपाल ल्याएर बन्धक:बंगाली नागरिकहरु पक्राउ
काठमाडौं। बंगलादेशी नागरिकलाई युरोपका विभिन्न देशहरु पठाउने भन्दै नेपाल ल्याए बन्धक बनाएको आरोपमा चार बंगाली नागरिकहरु पक्राउ परेका छन् ।पक्राउ पर्नेहरुमा ३८ वर्षीय नुरुल हुडा, ३० वर्षीय एमडी मासुम बिल्लाह, ३१ वर्षीय शामिम अहमद र ३३ वर्षीय प्रणय कुमार दे छन् ।उनीहरु सबैलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो ।यो समूहले बंगलादेशी नागरिकहरुलाई रोजगारीका लागि युरोपका विभिन्न देशहरुमा पठाउने भन्दै नेपालमा ल्याएर बन्धक बनाएको पाइएपछि पक्राउ गरिएको अपराध अनुसन्धान कार्यालयका एसपी नकुल पोखरेलले बताए ।
बंगलादेशबाट नेपाल ल्याई पकनाजोलस्थित निभाना ग्रिन पिस होम नामक होटलमा बन्धक बनाएर राखेको भन्ने सूचना आएपछि प्रहरीले चार जनालाई उद्धार गर्नुका साथै चार जनालाई पक्राउ गरेको हो । उनीहरुलाई ५ चैतमा बंगलादेशबाट काठमाडौं ल्याएर बन्धक बनाइएको थियो ।
होटलमा बन्धक बनाएर पासपोर्ट नियन्त्रणमा लिने, कुटपिट गर्ने र रकम असुल्न गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ । पक्राउ परेकाहरुलाई कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय परिसर पठाइएको छ ।