यु-१९ विश्वकप क्रिकेट : नेपालले आज न्युजिल्याण्डसँग खेल्दै

काठमाडाैं । दक्षिण अफ्रिकामा जारी आईसीसी यु-१९ एकदिवसीय विश्वकप क्रिकेट प्रतियोगितामा नेपालले आज आफ्नो पहिलो खेल न्युजिल्याण्डसँग खेल्दैछ ।

नेपाल र न्युजिल्याण्डबीचकाे खेल नेपाली समय अनुसार दक्षिण अफ्रिकाको बफेलो पार्कमा दिउँसो पौने २ बजे सुरु हुनेछ । नेपालले ८ वर्षपछि यु-१९ विश्वकप खेल्न लागेको हो ।

गत फागुनमा सम्पन्न यु- ए१९ एसिया डिभिजन–१ को उपाधि जित्दै नेपालले आठ वर्षपछि १९ वर्षमुनिको विश्वकपमा स्थान पक्का गरेको थियो । नेपालको समूह ‘डी’ मा तीन टेस्ट टोली न्युजिल्यान्ड, अफगानिस्तान र पाकिस्तान छन् । हरेक समूहका शीर्ष तीन टोली सुपर सिक्समा पुग्नेछन् ।

यु-१९ विश्वकपअघि नेपालले ४ वटा अभ्यास खेल खेलेको थियाे । जसमा नेपालले स्कटल्याण्ड र नामिबियालाई हरायो भने वेस्टइण्डिजसँगको खेल वर्षाको कारण रद्द भएको थियो ।