राजनीतिक कुरा राजनीतिक रूपमा लिऔँ, आवेग, उत्तेजना र आरोप प्रत्यारोपमा नआऔँ, सदन सदन जस्तै होस्’: ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले लाइन काटिएका उद्योगको महसुलका सम्बन्धमा सोमबार प्रतिनिधि सभामा स्पष्ट पार्नुभएको छ ।

प्रधानमन्त्रीले विद्युतको लाइन काटिएका उद्योगको महसुलका सम्बन्धमा स्पष्ट पार्दै कतिपय सांसदले आफूले आइतबार सो सम्बन्धमा दिएको जवाफबारे गलत रूपमा आजको बैठकमा प्रश्न उठाएको बताउनुभयो । प्रधानमन्त्री ओलीले राजनीतिक पूर्वाग्रहका नाममा झुटको खेती नगर्न र तथ्य प्रमाणका आधारमा सदनमा अभिव्यक्त हुन आग्रह गर्नुभयो ।

उद्योगहरूबाट बिजुली प्रयोग भई बक्यौता रकम लिनुपर्ने भएमा सरकारले पाउनुपर्ने तर प्रयोग नगरेको विद्युत् महसुल तिर्नु नपर्ने प्रधानमन्त्री ओलीले बताउनुभयो । माओवादी सांसद् राजन दाहालले प्रधानमन्त्रीलाई बिचौलियाको आरोप लगाएपछि ओली कडा रूपमा प्रस्तुत हुनुभएको हो । ‘मलाई कुनै लप्पनछप्पन गर्नु छैन, मलाई कुनै सेटिङ र तन्त्रमा जानु छैन, देश र जनताका हितका पक्षमा निष्ठाका साथ ६ दशकदेखि काम गर्दै आएको छु’, उहाँले भन्नुभयो ।

आफूले उद्योगहरूले प्रयोग गरेको महसुल तिर्नु पर्दैन नभनेको बताउँदै ओलीले माननीयका हैसियतमा असत्य प्रस्तुत गर्ने र भ्रष्टाचार छोप्नका लागि अरूमाथि भ्रष्टाचारको आरोप कामले सदनको गरिमा नरहने स्पष्ट पार्नुभयो । ‘कसैलाई म प्रधानमन्त्री भएको मन नपर्न सक्छ, त्यसमा केही छैन, राजनीतिक कुरा राजनीतिक रूपमा लिऔँ, आवेग, उत्तेजना र आरोप प्रत्यारोपमा नआऔँ, सदन सदन जस्तै होस्’, ओलीले भन्नुभयो ।