राष्ट्रनिर्माता पृथ्वीनारायण शाहलाई राजनीति भन्दा माथि राख्नुपर्छ : रवि लामिछाने

काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले राष्ट्रनिर्माता पृथ्वीनारायण शाहलाई राजनीति भन्दा माथि राख्नुपर्ने बताउनुभएकाे छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले शुक्रबार काठमाडाैंमा आयाेजना गरेकाे चियापान कार्यक्रममा सभापति लामिछानले राष्ट्रनिर्माता शाहको योगदानलाई सबैले सम्मान गर्नुपर्ने र उहाँलाई राजनीति भन्दा माथि राखेर सबैको साझा बनाउनुपर्ने बताउनुभयाे ।

पृथ्वीनारायण शाहलाई राजावादीले आफ्नो मात्रै हुन् भन्ने र गणतन्त्रवादीले हाम्रो होइन भन्ने सोच्न नहुने उहाँले बताउनुभयाे । देशलाई एक ढिक्का बनाइ नेपाल भनेर गौरव गर्नसक्ने स्थिति बनाउने राष्ट्रनिर्माताप्रति सम्मान गर्न कन्जुस्याँइ गर्न नहुने सभापति लामिछानेले बताउनुभयाे ।

दलहरुबीच मतभेद रहेपनि चियापान जस्ता कार्यक्रमले सद्‍भावको वातावरण बनाउने समेत उहाँले बताउनुभयाे । राष्ट्रनिर्माताप्रति सम्मान प्रकट गर्न पनि आफू चियापान कार्यक्रममा आएकाे समेत सभापति लामिछानेले बताउनुभयाे ।