राष्ट्रपतिद्वारा नवदुर्गाको विशेष पूजा

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा नवदुर्गा भवानीको पूजाआरधना गर्नुभएकाे छ ।

बडादशैंको अन्तिम दिन कोजाग्रत पूर्णिमाको अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले शनिबार भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा सरिक भई नवदुर्गा भवानीको पूजाअर्चना गरेर टीका प्रसाद ग्रहण गर्नुभएको हाे । उहाँले राष्ट्र प्रमुखका रूपमा नवदुर्गा भवानीको प्रसाद ग्रहण गर्नुभएको हो ।

सो क्रममा राष्ट्रपति पौडेलले नवदुर्गा भवानीको जमरा एवं टीका, प्रसाद, फूलमाला, बिमिरो र पञ्चरंगी धागो ग्रहण गर्नुभएको थियो । नवदुर्गाका देवगण, पुजारी तथा तलेजुका मूल नाइकेलाई उहाँले दक्षिणा समेत प्रदान गर्नुभयो ।