राष्ट्रपति समक्ष महान्यायधिवक्ताको वार्षिक प्रतिवेदन पेश

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल समक्ष महान्यायधिवक्ता डा. दिनमणि पोखरेलले महान्यायधिवक्ताको वार्षिक प्रतिवेदन पेश गर्नुभएको छ ।राष्ट्रपति कार्यालय शीतल निवासमा आज आयोजित विशेष समारोहबिच राष्ट्रपति पौडेल समक्ष महान्यायधिवक्ता पोखरेलले महान्यायधिवक्ताको आर्थिक वर्ष २०७९/०८० को वार्षिक प्रतिवेदन पेश गर्नुभएको हो ।

कार्यक्रममा वार्षिक प्रतिवेदन ग्रहण पश्चात् राष्ट्रपति पौडेलले महान्यायधिवक्ता कार्यालयले गर्दै आएको कामको सराहना गर्नुहुँदै पीडितले क्षतिपूर्ति सहितको न्याय पाउनुपर्छ भन्नेमा विशेष ध्यान दिनुपर्ने बताउनुभयो ।

राष्ट्रपति पौडेलले पीडितले न्याय पाए नपाएको विषय महत्वपूर्ण भएकाले तथ्यपरक र वैज्ञानिक अनुसन्धानका माध्यमबाट न्याय निरूपणलाई निष्पक्ष बनाउने गरी काम गर्न सक्नुपर्ने पनि आवश्यकता औँल्याउनुभयो ।

महान्यायधिवक्ताको वार्षिक प्रतिवेदनमा औँल्याइएका विषयवस्तुलाई नेपाल सरकारले गम्भीरतापूर्वक लिने र कार्यान्वयनमा लाग्ने आफूले विश्वास लिएको पनि सम्बोधनका क्रममा राष्ट्रपति पौडेलले उल्लेख गर्नुभयो ।

कार्यक्रममा महान्यायधिवक्ता दिनमणि पोखरेलले महान्यायधिवक्ता कार्यालयले अभियोजन प्रणालीलाई सुदृढ गर्दै सरकारवादी मुद्दाको प्रतिरक्षा गर्ने काममा प्रतिबद्ध भई लागिरहेको बताउनुभयो ।