राष्ट्रिय सभाको निर्वाचन आज, १९ सिटमा ५१ उम्मेदवार

काठमाडौं । राष्ट्रिय सभाका १९ सदस्य छान्न आज निर्वाचन हुँदै छ । मतदान सातै प्रदेशका मुकाममा आज बिहान ९ देखि दिउँसो ३ बजेसम्म हुनेछ । मतदानको काम सम्पन्न भएलगत्तै मत गणना पनि सुरु हुने र नतिजा पनि आजै सार्वजनिक गर्ने निर्वाचन आयोगले जनाएको छ । त्यसका लागि आयोगले हिजै मतदानको सबै तयारी पूरा भएको जानकारी दिएको छ ।
यस निर्वाचनमा निर्वाचक मण्डलको सदस्य रहेका प्रदेशसभाका सदस्य, गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुखले मतदान गर्नेछन् । जसमा सातै प्रदेशका ५४९ प्रदेशसभा सदस्य र ७५३ स्थानीय तहका एक हजार ४९८ प्रमुख तथा उपप्रमुख गरी दुई हजार ४७ मतदाता रहेका छन् ।
प्रतिप्रदेश सभा सदस्यको मतभार ५३ र प्रतिस्थानीय तहका प्रतिनिधिको मतभार १९ कायम गरिएको छ । प्रदेशसभाका सम्पूर्ण सदस्यको मतभार २९ हजार ९७ हुन्छ भने स्थानीय तहका मतदाताको २८ हजार ४६२ मतभार छ । यसरी जम्मा कुल मतदाताको मतभार ५७ हजार ५५९ छ ।
राष्ट्रिय सभामा रिक्त हुने १९ सदस्यमध्ये कोशी र मधेशमा दुर्इ/दुर्इ तथा बागमतीमा ४ सदस्य चयनका लागि मतदान हुनेछ । त्यस्तै गण्डकीमा तीन, लुम्बिनीमा दुई, कर्णाली र सुदूरपश्चिममा तीन-तीन सदस्यका लागि मतदान हुनेछ ।
रिक्त हुनेमध्ये एमालेका ८, नेपाली कांग्रेसका ४, माओवादी केन्द्रका ३, एकीकृत समाजवादीका २, जसपाका एक र स्वतन्त्र एक छन् । उनीहरुको कार्यकाल फागुन २० गतेदेखि सकिँदै छ ।
कार्यकाल सकिनु ३५ दिन अगावै नयाँ सदस्य चयन गर्नुपर्ने संवैधानिक व्यवस्था अनुसार आज निर्वाचन गर्न लागिएको हो ।
निर्वाचनका लागि सत्ता गठबन्धनले साझा उम्मेदवार अघि सारेका छन् । कोशी प्रदेशमा एमाले र राप्रपाबीच तालमेल भएको छ ।
All reactions:

11