काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री तथा सांसद विश्वप्रकाश शर्माले रूसी सेनामा भर्ती भएका नेपालीलाई फर्काउन माग गरेका छन् ।
आइतबार प्रतिनिधिसभा अन्तर्गत रहेको राज्यव्यवस्था तथा सुशासन समितिको बैठकमा उनले उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई ध्यानाकर्षण गराएका हुन् ।उनले रूसी सेनामा भर्ती भएका नेपालीलाई फर्काउनसमेत सरकार चुकेको आरोप लगाए । रूसले नेपालीमाथि अमानवीय व्यवहार गरेको उनको भनाई छ ।
रूसी सेनामा भर्ती भएका तर अहिले छोडेर फर्कन चाहनेलाई रूसले नेपाल फर्कन नदिएको उनले बैठकमा जानकारी गराए ।अवैध तरिकाले रूसी सेनामा भर्ती भई युक्रेनसँगको युद्धमा हालसम्म १४ जना नेपालीको मृत्यु भएको औपचारिक जानकारी नेपाल सरकारले प्राप्त गरिसकेको छ ।रूसी सेनामा भर्ती भएका १४० जनाभन्दी बढीका परिवारले उनीहरूलाई फिर्ता गर्नको लागि अनुरोधसहितको निवेदन दिएका छन् ।