काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले रोजगारीका अवसर प्राप्त गरेकाहरु नै विदेश पलायन हुनु चिन्ताको विषय भएको बताउनुभएकाे छ ।
मंगलबार काठमाडाैंमा आयाेजित कान्तिपुर एजुकेशन समिट (शैक्षिक बहस) समारोहलाई सम्बाेधन गर्दै प्रधानमन्त्री प्रचण्डले छिटो धेरै सम्पत्ति कमाउने मोहमा रोजगारीको अवसर प्राप्त गरेकाहरू नै विदेश पलायन हुनु चुनाैतीकाे विषय भएकाे बताउनुभयाे ।
बेरोजगारी लगायत कारण देशभित्र भविष्य नदेख्ने बाध्यात्मक परिस्थिति भने देशमा रहेकाे उहाँले बताउनुभयाे । ‘उत्पादकत्वमा कमि, बेरोजगारी लगायतका कारण देशभित्र भविष्य नदेख्ने बाध्यात्मक परिस्थिति एक ठाउँमा छ, तर देशभित्रै रोजगारीको अवसर प्राप्त गरेका र सामाजिक रुपमा समेत प्रतिष्ठित व्यक्तिमा समेत शीघ्रातीशीघ्र सम्पत्ति आर्जनको मोह अनपेक्षित रूपमा बढ्दै गएको छ, यो चाहिँ हाम्रा निम्ति साँच्चिकै चुनौतीको विषय हो’- प्रधानमन्त्री प्रचण्डले भन्नुभयाे ।
उहाँले मुलुकको शिक्षा क्षेत्रको सुधारका लागि शैक्षिक नीति, पाठ्यक्रम र संरचनामा रूपान्तरण जरूरी भएको बताउनुभयाे । शिक्षा लगायत राष्ट्रिय जीवनका अधिकांश क्षेत्रमा भूमण्डलीकरणको प्रभाव परिरहेको समेत प्रधानमन्त्री प्रचण्डले बताउनुभयाे ।