विपद् जोखिम न्युनिकरणका लागि नयाँ मोडेल विकास गर्न आवश्यक : गृहमन्त्री श्रेष्ठ

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री नारायकाजी श्रेष्ठले विपद् जोखिम न्युनिकरणका लागि नयाँ मोडेल विकास गर्न आवश्यक रहेको बताउनुभएकाे छ ।

२६औं राष्ट्रिय भूकम्प सुरक्षा दिवसको सन्दर्भमा मंगलबार न्युरोडमा आयोजित कार्यक्रममा गृहमन्त्री श्रेष्ठले विपद् जोखिम न्युनिकरणका लागि नयाँ मोडेल विकास गर्न मुलुककै केन्द्रमा रहेको काठमाडौं महानगरपालिकाले पहल लिनुपर्ने बताउनुभयाे । अन्य स्थानीय पालिकाहरुका लागि समेत अनुकरणीय हुने गरी स्थानीय उत्थानशिलता विकास गर्ने नयाँ मोडल विकास गर्न उहाँले काठमाडौं महानगरलाई आग्रह गर्नुभयाे ।

काठमाडौं महानगरले वि सं.१९९० साल माघ २ गते गएको विनाशकारी भूकम्पको सम्झनामा आयाेजित स्मृति सभामा गृहमन्त्री श्रेष्ठले महानगरपलिकाले विपद् व्यवस्थापनका लागि गरेको पहल राम्रो भएको बताउनुभयाे ।

भूकम्प लगायत विपद् जोखिमबाट बच्न नयाँ मोडेलको आवश्यकता रहेको भन्दै उहाँले त्यसका लागि महानगरले प्रदेश र संघीय सरकारसँग समेत सहकार्य गर्न सक्ने बताउनुभयाे । ‘यी सबै कार्यको लागि संविधानले परिकल्पना गरे अनुसार संघीय र प्रदेश सरकारका साथै काठमाडौं महानगरपलिका मिलेर जोखिम न्युनिकरण र स्थानीय उत्थानशिलता विकास गर्ने नयाँ मोडल विकास गर्न मिलेर काम गरौं, त्यो माेडेल नेपालका सबै पालिकाहरुको लागि अनुकरणीय हुन सक्छ’- गृहमन्त्री श्रेष्ठले भन्नुभयाे ।

काठमाडौं महानगरले विकटका पालिकालाई गरेको एम्बुलेन्स लगायतको सहयोग तथा जाजरकोट भूकम्पमा गरेको सहयोग र पुर्नर्निमाणमा देखाएको चासोको प्रशंसा गर्नुभयाे ।

कार्यक्रममा राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेलले हरेक पालिकालाई भूकम्प लगायत अन्य विपदको जोखिमबाट बच्न सजग र सचेत गराउनुभयाे । काठमाडौंको मौलिक घर-भवन निर्माण संरचनाको कलालाई अन्य स्थानीय पालिकामा पनि विस्तार गर्नुपर्ने उहाँले बताउनुभयाे । पाेखरेलले काठमाडौं महानगरले थालेको आगलागी नियन्त्रणका साधन व्यवस्थापन, एक्बुलेन्स सेवा, शैक्षिक क्षेत्रको सुधार लगायत कार्य अन्य स्थानीय पालिकाका लागि समेत अनुकरणीय भएको बताउनुभयाे ।