संक्रमणकालीन न्यायसँग सम्बन्धित विधेयक सबै राजनीतिक दलहरूको सहमतिबाटै टुंग्याउँछौँ : प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संक्रमणकालीन न्यायसँग सम्बन्धित विधेयक सबै राजनीतिक दलहरूको सहमतिबाटै टुंग्याउने बताएका छन् । आइतबार बिहान तीन दिने युगाण्डा भ्रमण सकेर फर्किनुभएका प्रधानमन्त्री प्रचण्डले विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै यस्तो बताएका हुन् ।

उनले शान्ति प्रक्रियाका बाँकी कामबारे सबै छलफल र तयारी गरिसकेको र राजनीतिक दलका नेताहरूसँग आफूले वार्ता गरिसकेको भन्दै हिउँदे अधिवेशनको पहिलो दिन नै प्राथमिकताका साथ सदनमा पेस गर्ने बताए । उनले शान्ति प्रक्रियाको बाँकी काम टुंग्याउने प्रक्रियाले अब गति लिने दाबी गरे ।

उनले भने, ‘टिआरसीबारे सबै छलफल र तयारी गरेका छौँ । संसद्को उपसमितिबाट टुङ्ग्याएर त्यो समितिमा गएको छ । अब फुल हाउसमा लैजाने तयारी छ । सदन खुल्ने बित्तिकै टिआरसी विधेयकलाई प्राथमिकताका साथ राखिन्छ र टुङ्ग्याइन्छ । टुंग्याउने कुरा सहमतिबाट टुङ्ग्याउन मेरो पूरै कोसिस छ । राजनीतिक दलका नेताहरूसँग मैले लगातार वार्ता गरेको छु । मलाई विश्वास छ, अन्तिममा सहमतिबाट नै टिआरसी विधेयक टुङ्गिन्छ । शान्ति प्रक्रियाको बाँकी काम टुंग्याउने प्रक्रियाले गति लिन्छ ।’

प्रधानमन्त्री दाहालले एक वर्षे उपलब्धि सार्वजनिक गर्दाको सम्बोधनअनुसार नै काम अघि बढाइरहेको दाबी गरे ।