काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधानको पालना र सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्नु राज्यका सबै अङ्गका साथै सरोकारवाला सबैको दायित्व भएको बताउनु भएको छ ।
बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा पूर्व न्यायाधीश समाजका पदाधिकारीहरूसँगको छलफलमा प्रधानमन्त्रीले सो कुरा बताउनुभएको हो । पूर्व न्यायाधीश समाजका अध्यक्ष टोपबहादुर सिंहसहितका पूर्वन्यायधिशहरुसँगको छलफलमा प्रधानमन्त्रीले अहिले केही व्यक्ति समाजको हारमोनी बिगार्न र राम्रो कामलाई पनि नराम्रो भन्दै प्रचार गर्न लागिपरेको भन्दै संविधान र कानुनको पालना गर्न लगाउन पूर्व न्यायाधिशहरुको भूमिकासमेत महत्त्वपूर्ण रहने बताउनु भयो ।
प्रधानमन्त्रीले पूर्व न्यायाधिशहरुले विगतमा संविधान र कानुनमाथि आक्रमण हुँदा आवाज उठाएको बताउँदै आगामी दिनमा पनि राज्यका विभिन्न अङ्ग र निकायले गर्ने काममा संविधान र कानुनको पालना भए नभएको बारे निरन्तर निगरानी गरिरहनु पर्ने औँल्याउनु भयो । उहाँले राज्यका जिम्मेवार पदमा बसेका व्यक्तिहरूले भिड हेरेर वा सामाजिक सञ्जालका धारणा हेरेर निर्णय गर्न नहुने भन्दै संविधान र कानुनको पूर्ण पालना गरेर त्यसका आधारमा मात्र निर्णय गर्नुपर्ने बताउनु भयो ।
प्रधानमन्त्रीसँगको छलफलमा पूर्व न्यायाधिशहरुले राज्यको कार्यकारी प्रमुखका नाताले प्रधानमन्त्रीले अहिलेको व्यवस्था सुदृढ गर्न तथा संविधान र कानुनको पालना गराउन भूमिका खेल्नुपर्ने सुझाव राख्नुभयो