‘सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक सहमतिबाटै टुङ्गोमा पुर्‍याउनुपर्छ’:धनराज गुरुङ

लुम्बिनी । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले सङ्क्रमणकालीन न्यायसम्बन्धी (टिआरसी) विधेयक १२ बुँदे सम्झौताको जगमा टेकेर सहमतिबाटै टुङ्गोमा पुर्‍याउनुपर्ने बताउनुभएको छ ।

उहाँले १२ बुँदे सम्झौताका मुख्य पक्ष, तीन दल नेपाली कांग्रेस, नेकपा (एमाले) र एकीकृत नेकपा (माओवादी)मा सङ्क्रमणकालीन न्यायलाई टुङ्गोमा पुर्‍याउने जिम्मेवारी रहेको उल्लेख गर्नुभयो ।

नेपाल प्रेस युनियन रुपन्देही शाखाले आज बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्री गुरुङले टिआरसी विधेयकका कारण १७ वर्षदेखि शान्ति प्रक्रिया पनि अड्किएकाले यसलाई टुङ्गोमा पुर्‍याउन शीर्ष नेतृत्वलाई आफूले अनुरोध गरेको पनि बताउनुभयो । उहाँले संसद्को आगामी अधिवेशनमा यो विधेयकलाई टुङ्गोमा पुर्‍याउने गरी मुख्य दलहरुबीच सहमतिका लागि छलफल जारी रहेको जानकारी दिनुभयो ।

नेपाली कांग्रेसका उपसभापति समेत रहनुभएका मन्त्री गुरुङले वर्तमान सरकार पुनः गठनको विषय प्रधानमन्त्रीको अधिकारको विषय भए पनि यो गठबन्धनको सरकार भएकाले गठबन्धनका शीर्ष नेताबीच छलफल हुँदा तत्काल फेरबदल आवश्यक नरहेको निष्कर्षमा पुगिएको बताउनुभयो ।

उहाँले आगामी संसद् अधिवेशन विधेयक अधिवेशन हुने र सरकारले छिट्टै सङ्घीय निजामती ऐन, शिक्षा विधेयक, प्रहरी समायोजन विधेयकजस्ता महत्वपूर्ण विधेयक टुङ्गोमा पुर्‍याउने स्पष्ट पार्नुभयो ।