सरकारको चालु खाता २९ अर्ब ६४ करोडले घाटामा

काठमाडौँ । चालु आर्थिक वर्ष २०७९/८० को माघ मसान्तसम्ममा सरकारको चालु खाता रू २९ अर्ब ६४ करोडले घाटामा रहेको छ ।

नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार गत आवको तुलनामा चालु खाता घाटा घटेको देखिएको हो । आर्थिक वर्ष २०७८÷७९ को माघसम्ममा चालु खाता रू चार खर्ब ११ अर्ब ३४ करोडले घाटामा रहेको थियो.

यही अवधिमा शोधनान्तर स्थिति भने बचतमा देखिएको छ । माघ मसान्तसम्ममा शोधनान्तर स्थिति रू एक खर्ब ३३ अर्ब २१ करोडले बचतमा रहेको छ । गत आर्थिक वर्षको सोही अवधिमा शोधनान्तर स्थिति रू दुई खर्ब ४७ अर्ब ३ करोडले घाटामा रहेको थियो ।

त्यसैगरी चालु आर्थिक वर्षको सात महिनामा नेपालले भित्र्याएको खुद प्रत्यक्ष वैदेशिक लगानी रू एक अर्ब चार करोड रहेको राष्ट्र बैंकले जनाएको छ । गत आर्थिक वर्षको सोही अवधिमा सरकारले रू १६ अर्ब २९ करोड बराबर प्रत्यक्ष वैदेशिक लगानी भित्र्याएको थियो ।

Comments are closed.