सरकारको ध्यान विकासलाई गति दिन केन्द्रित : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले इञ्जिनियरहरू राष्ट्र निर्माणका संवाहक भएका बताउनु भएको छ ।

बुधबार काठमाडौंमा आयोजित नेपाल इन्जिनियर्स एसोसिएसनको १६औँ राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले देशमा विकास निर्माणका काममा इञ्जिनियरको महत्पूर्ण भूमिका रहको बताउनुभयो । प्राविधिक जनशक्तिको भूमिका यसमा निर्णायक र नेतृत्वदायी हुने दाहालको भनाइ छ ।

उहाँले नेपाल इन्जिनियर्स एशोसिएसनले इन्जिनियरहरूको क्षमता अभिवृद्धिको लागि, पेसागत विकासको लागि इन्जिनियरिङ स्टाफ कलेजको स्थापनाको मागमा सरकार सकारात्मक रहेको उहाँले बताउनुभयो । ‘इन्जिनियरिङ स्टाफ कलेज स्थापनाको विषयमा सरकार सकारात्मक हुने म तपाईँहरूलाई विश्वास दिलाउन चाहन्छु’, उहाँले भन्नुभयो ।

दाहालले सुशासन कायम गरी अर्थतन्त्रलाई लयमा फर्काउन सरकार क्रियाशील रहेको बताउनुभयो । पूर्वाधारलाई प्राथमिकतामा राखेर सरकारले काम गरिरहेको पनि उहाँले बताउनुभयो । पूर्वाधारले मात्र आर्थिक विकासको ढोका खुल्नेमा उहाँले जोड दिनुभयो ।‘विकासलाई गति दिनको निम्ति वर्तमान सरकारको ध्यान केन्द्रित भएको छ’, दाहालले भन्नुभयो ।

विकास निर्माण लामो तर जटिल प्रक्रिया भएको उहाँले बताउनुभयो । अनावश्यक विवाद र झमेलाले विकास योजना पुरा नहुँदा राज्यलाई थप आर्थिक भार बढेको तर्फ उहाँले सचेत गराउनुभयो ।