सरकारको न्यूनतम साझा कार्यक्रम आज सार्वजनिक हुँदै

काठमाडौं । सरकारकाे न्यूनतम साझा कार्यक्रम आज सार्वजनिक गरिने भएकाे छ ।

सत्ता गठबन्धनले सरकारकाे न्यूनतम साझा कार्यक्रम आज सार्वजनिक गर्न लागेकाे हाे । बिहान १० बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्काे कार्यालय सिंहदरबाट सरकारको न्यूनतम साझा कार्यक्रम सार्वजनिक गर्न लागिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

सत्ता गठबन्धनका दलका नेता सम्मिलित कार्यदलले तयार पारेको न्यूनतम साझा कार्यक्रमकाे मस्याैदा शनिबार बिहान प्रधानमन्त्री निवास बालुवाटार पुगेर प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, रास्वपाका सभापति रवि लामिछाने, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र जसपाका अध्यक्ष उपेन्द्र यादवलाई बुझाएकाे थियाे । शीर्ष नेताले अध्ययन गरेपछि आज सार्वजनिक गर्न लागिएकाे हाे ।

कार्यदल संयोजक एवं एमाले उपाध्यक्ष विष्णु पौडेलका अनुसार न्यूनतम साझा कार्यक्रममा संविधानको कार्यान्वयन र रक्षा, आर्थिक विकास र समृद्धि, अर्थतन्त्रका चुनौती समाधान, आम जनतामा आशा र विश्वास जगाउने, सार्वभौमसत्ता र स्वाधीनताको रक्षा गर्ने तथा समग्रमा समृद्ध नेपाल सुखी नेपालीकाे राष्ट्रिय आकांक्षा पूरा गर्ने विषय राखिएकाे छ ।

न्यूनतम साझा कार्यक्रम बनाउन एमालेबाट उपाध्यक्ष पौडेल र उपमहासचिव विष्णु रिमाल, माओवादीबाट उपमहासचिवद्वय वर्षमान पुन र जनार्दन शर्मा, रास्वपाबाट उपसभापति स्वर्णिम वाग्ले र महासचिव मुकुल ढकाल, एकीकृत समाजवादीबाट उपाध्यक्ष प्रमेश हमाल र महासचिव घनश्याम भुसाल र जसपाबाट राजेन्द्र श्रेष्ठ र मनिष सुमन रहेकाे १० सदस्यीय कार्यदल बनाइएकाे थियाे ।