सरकारले राष्ट्रिय हित विपरीत काम गर्‍यो : झलनाथ खनाल

काठमाडाैं । नेकपा एकीकृत समाजवादीका सम्मानीत नेता झलनाथ खनालले अहिलेकाे सरकारले राष्ट्रिय हित विपरीत काम गरेकाे बताउनुभएकाे छ ।

शनिबार पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा सञ्चारकर्मीसँग कुरा गर्दै नेता खनालले नेपाल जस्तो स्वतन्त्र मुलुकले अरु कुनैपनि देशको दूतावासबाट सोझै रकम ल्याउनेगरी परियोजना बनाउने कुरा राष्ट्र हित विपरीत भएको बताउनुभयाे ।

भारतीय दूतावासलाई २० करोडका योजनाहरु नेपालभर सोझै बाँड्न र लागू गर्न दिने गरी भएको सम्झौता राष्ट्रिय हित विपरीत  भएको  उहाँले बताउनुभयाे । ‘यो हाम्रो देशको स्वतन्त्रता र सार्वभौम सत्ता अनकूल हुँदैन, यो राष्ट्रिय हित विपरित हुन्छ, पहिला ३ करोड दिने कुरा गरियो त्यसबेला देखि नै गलत थियाे, त्यसपछि ५ कराेड बनाउने कुरा गरियाे त्याे पनि गलत हाे, अहिले २० कराेड बनाउने कुरा गरियाे त्याे पनि गलत हाे’- नेता खनालले भन्नुभयाे ।

कुनै पनि देशबाट अनुदान वा सहयोगमा रकम लिन सक्ने भएपनि दूतावासबाट रकम दिने कुरा देशको हितमा नरहेकाले सच्चाउनुपर्ने उहाँले बताउनुभयो । आफैं योजना बनाएर देशको विकास गर्ने नेपालको अधिकार गठबन्धन सरकारले सुरक्षित राख्न नसकेकाे समेत नेता खनालले बताउनुभयाे ।

भारतले दिने सहयोग रकम भारतीय सरकारले सोझै नेपाल सरकारलाई दिनुपर्ने भन्दै उहाँले भारतीय दूतावासले सिधै रकम दिँदा दुरुपयोग हुन सक्ने पनि बताउनुभयाे । ‘यदि छिमेकी राष्ट्र भारतले हामीलाई अनुदान दिने हो भने कति अर्ब, कति खर्ब दिने हो, त्यो हामी लिन्छौँ र मुरीमुरी धन्यवाद दिन्छौं, नेपाल सरकारले योजना बनाएर यो देशको विकास गर्ने हाम्रो अधिकारलाई हामी सुरक्षित राख्नुपर्ने हुन्छ, याे अधिकार गठबन्धन सरकारले सुरक्षित राख्न सकेन, त्यसकारण याे राष्ट्रिय हित विपरीत भयाे, यसकाे गलत ढंगले प्रयाेग हुन सक्छ, सरकारले याे कुरा सच्यायाेस्’- नेता खनालले भन्नुभयाे ।

छिमेकी देशहरुसँगकाे सम्बन्धलाई सन्तुलित ढंगले अगाडि बढाउन र राष्ट्रिय हितलाई सर्वाेपरी राखेर अगाडि बढ्न उहाँले सरकारलाई आग्रह गर्नुभयाे ।