जनकपुरकी २२ वर्षीया साहको ज्यान गएको घटनामा थप अनुसन्धान गरी अदालतमा प्रमाण पेस गर्ने लगायत विषयमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको उपस्थितिमा मंगलबार ५ बुँदे सहमति भएकाे हाे ।
सहमतिपत्रमा सरकारका तर्फबाट गृह मन्त्रालयका सहसचिव नारायणप्रसाद भट्टराई, काठमाडाैंका प्रमुख जिल्ला अधिकारी र उपसचिव एकदेव अधिकारी तथा आन्दोलनकारीका तर्फबाट आरती साहकी आमा निर्मलादेवी साह, दाइ प्रेम साह र मामा सन्तोषकुमार साहले हस्ताक्षर गर्नुभएकाे छ । सरकारसँगकाे सहमतिपछि साहको परिवारले लामो समयदेखि जारी आन्दोलन फिर्ता लिएकाे छ ।
अदालतमा विचाराधीन मुद्दालाई समेत मध्यनजर गरेर प्राप्त हुने थप प्रमाणलाई अदालतमा पेस गर्ने गरी थप अनुसन्धानको जिम्मा पाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) लाई दिने सहमति भएको छ । सहमति अनुसार अनुसन्धान टोलीले परिवारसँग समन्वय गरेर अनुसन्धान गर्ने र काम थालेको ४५ दिनभित्र ४ वटा विषयमा जाँच गर्नेछ ।
साहको परिवारलाई राहत स्वरुप आर्थिक सहायता उपलब्ध गराउन गृह मन्त्रालयले आवश्यक सहजीकरण गर्ने सहमति भएको छ ।
यस्ताे छ सहमतिपत्र
१. स्वर्गीय आरती साहको कर्तव्यज्यान सम्बन्धी हाल अदालतमा विचाराधीन मुद्दालाई समेत मध्यनजर गरी प्राप्त हुन जाने थप प्रमाणहरु कानुन बमोजिम अदालतमा पेस गर्ने गरी थप अनुसन्धान गर्न नेपाल प्रहरी केन्द्रीय अनुसन्धान ब्यूरोको टोली खटाउने ।
२. अनुसन्धान टोलीले मृतक आरती साहको परिवारसँगको समन्वयमा अनुसन्धान गर्ने र कार्य प्रारम्भ गरेको पैतालीस दिन भित्र प्रतिवेदन पेस गर्ने गरी निम्न विषयहरु अध्ययन गर्ने ।
(क) स्वर्गीय आरती साहको कर्तव्यज्यान सम्बन्धी मुद्दाको अनुसन्धानमा भएका कमी कमजोरीहरुका सम्बन्धमा अनुसन्धान गर्ने ।
(ख) घटनाको अनुसन्धानका क्रममा स्वर्गीय आरती साहका परिवारमाथि प्रहरीबाट भएको भनिएको कुटपिट एवं दुर्व्यवहारका सम्बन्धमा अनुसन्धान गर्ने ।
(ग) घटनाको सम्बन्धमा नेपाल मेडिकल काउन्सिल र राष्ट्रिय मानव अधिकार आयोगचाट सार्वजनिक भएको प्रतिबेदनमा उल्लिखित विषय समेतलाई अध्ययन गर्ने।
(घ) घटनाका सम्बन्धमा तयार भएका चिकित्सकीय प्रतिवेदनहरू अध्ययन गर्ने ।
३. माथि बुँदा नं. १ र २ बमोजिम भएको अनुसन्धानबाट प्राप्त प्रमाणका आधारमा प्रचलित कानुन बमोजिम पुनः अभियोजन समेत गर्ने ।
४. स्वर्गीय आरती साहका परिवारलाई राहत स्वरुप आर्थिक सहायता उपलब्ध गराउन गृह मन्त्रालयले आवश्यक, सहजीकरण गर्ने ।
५. स्वर्गीय आरती साहका परिवारको तर्फबाट भइरहेको आन्दोलनका कार्यक्रमहरु आजका मितिबाट फिर्ता लिने ।