काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले सहकारी पीडितहरुको पैसा सरकारले तिर्नुपर्ने बताउनु भएको छ ।
चितवनमा सहकारी पिडितहरुसँगको भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा सभापति लामिछानेले सहकारी खोल्न सरकारले लाईसेन्स दिने सहकारीका सदस्यहरु मर्का पर्दा सरकारले बेवास्ता गर्न नमिल्ने बताउनुभयो । साहारा सहकारीवाट ग्यालेक्सी टेलिभिजन सञ्चालनका लागि पैसा लगेको कुरा आएपछि लामिछानेले चितवनका सहकारी पीडितहरुसँग भेट गर्नुभएको हो ।
आफू टेलिभिजनमा रहँदा कुनै पनि सहकारीबाट पैसा लिएको कुरा आफूलाई थाहा नभएको भन्दै सभापति लामिछानेले सहकारी पीडितहरुको पक्षमा आफु रहेको बताउनुभयो । उहाँले टेलिभिजनमा रहँदा कार्यक्रम चलाउने समाचार बनाउने जिम्मेवारी पाएको मान्छे टेलिभिजनको लगानी गर्ने जिम्मेवारी तहमा नभएको र टेलिभिजनमा रहँदा सञ्चालनका लागि कुनै पनि सहकारीबाट पैसा ल्याउने निर्णय पनि नभएको बताउनुभयो ।
सभापति लामिछानेले सवाल चितवनका सहकारी पीडितको मात्र नभइ देशैभरका सहकारी पीडितहरुको पक्षमा काम गर्न डा. स्वर्णीम वाग्लेको संयोजकत्वमा समाधान सहितको प्रतिवेदन तयार पारेको जानकारी दिनुभयो ।
करिब २ सयको हाराहारीमा जम्मा भएका सहकारी पीडितहरुले सहकारीमा पैसा डुबेको कारण औषधि उपचार लगायत खान समस्या भएको गुनासो गरेका थिए ।