काठमाडौँ — प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले फरार एमाले सांसद लक्ष्मी महतो कोइरीको अनुपस्थितिलाई बिरामी बिदाको सूचीमा राखेपछि सांसदहरूले विरोध गरेका छन् ।
सभामुख घिमिरेले शुक्रबार संसद्मा कोइरीसमेत ५ जना सांसदको नाम ‘बिदा स्वीकृति’ का लागि संसद्मा प्रस्ताव पेस गरेका थिए । सांसदहरूले फरार सांसदलाई बिरामी भनिएको भन्दै विरोध जनाएका हुन् ।सभामुखले कोइरीलाई बिरामी सूचीमा राखेपछि कांग्रेस प्रमुख सचेतक रमेश लेखकले फारार सूचीमा रहेकालाई बिरामी भनेर झुटो कुरा गर्न नमिल्ने बताए । उनले संसदले यस्तो गलत कुराको अनुमोदन गर्न नसक्ने भन्दै उनले आपत्ति जनाएका छन् । रास्वपाका सांसद रवि लामिछाने, राष्ट्रिय जनमोर्चाका चित्रबहादुर केसी, माओवादीका प्रमुख सचेतक हितराज पाण्डेलगायतले पनि आपत्ति जनाए ।
संसद्को अधिवेशन अन्त्य हुने क्रममा सभामुखले १० भन्दा बढी बैठकमा लगातार अनुपस्थित सांसदको नामावली पढेर बिदा स्वीकृत गराउने अभ्यास छ । यस पटक चीनमा उपचार गराइरहेका माओवादी सांसद वर्षमान पुन, भारतमा उपचार गराइरहेका कांग्रेस सांसद चन्द्र भण्डारीसँगै एमालेका फरार सांसद कोइरीको पनि बिदा स्वीकृत गराउन संसद्मा प्रस्ताव पेस गरेका थिए । साथै कांग्रेस सांसदहरू विनाकुमारी थनैत र मनोरमा शेरचन पनि स्वोस्थ्योपचारमा रहेको सभामुख घिमिरेले जनाएका छन् ।