काठमाडाैं । नेपाल वैदेशिक रोजगार व्यवसायी संघले वैदेशिक रोजगारीमा साउदी अरब जाने व्यक्तिका लागि अनिवार्य गरिएको बायोमेट्रीक प्रणाली हटाउन माग गरेको छ ।
सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै संघले साउदी अरब दूतावास काठमाडौंले कामदारलाई समय र पैसा दुवैको भार पार्ने गरी अनिवार्य गरेको बायोमेट्रिक प्रणाली कुटनीतिक पहल गरेर हटाउन माग गरेको हो ।
संघका अध्यक्ष राजेन्द्र भण्डारीले बायोमेट्रिक प्रणाली साउदी अरबमा अनिवार्य नभएकाे बताउनुभयाे । तर नेपाली कामदारलाई अनावश्यक आर्थिक भार बोकाउन अनिर्वार्य गरिएको उक्त प्रणाली हटाउनुपर्ने माग उहाँले गर्नुभयाे ।
संघले वैदेशिक रोजगारीमा जाने कामदारलाई लागू गर्न खोजिएको अनिवार्य परीक्षाको औचित्य नहेरी भार बढाउने हुँदा खारेज गर्नुपर्ने माग राखेको छ । निशुल्क तालिमका नाममा बनाइएको कार्यविधिको अनावश्यक मापदण्ड हटाउन पनि महासंघले माग गरेको छ ।
मानव तस्करी र विचौलियालाई फाइदा पुग्ने गरी प्रदान भइरहेको व्यक्तिगत श्रम स्वीकृति बन्द गरी संलग्नमाथि छानविन गरी कारबाही हुनुपर्ने अध्यक्ष भण्डारीले बताउनुभयो । उहाँले वैदेशिक रोजगारलाई मर्यादित र कामदारलाई वास्तविक लागत खर्चमा पठाउन खर्च शीर्षक निर्धारण गर्नुपर्ने पनि बताउनुभयाे ।
संघले वैदेशिक रोजगार ऐन, २०६४ लाई समयसापेक्ष परिमार्जन गर्न संघसँग छलफल गरी मन्त्रालयले यथाशीघ्र कार्य प्रारम्भ गर्नुपर्ने जनाएको छ । आफ्ना माग राज्यकातर्फबाट सम्बोधन नभए आन्दोलनको घोषणा गरी कामदार पठाउन असक्षम रहने चेतावनी समेत संघले दिएको छ ।