साहित्य संगमद्वारा तीन श्रष्टा सम्मानित

हेटौँडाः साहित्य संगम मकवानपुरले गोपालप्रसाद रिमालको जन्मजयन्तीको दिनमा ३ जना श्रष्टालाई सम्मान गरेको छ । संगमले गोपालप्रसाद रिमाल स्मृति राष्ट्रिय सम्मानबाट साम्व ढकाल, श्यामप्रसाद शर्मा स्मृति सम्मानबाट केदारप्रसाद न्यौपाने र शान्तिदेवी वनस्खण्डी स्मृति सम्मानबाट तुलसी घिमिरे सम्मानित हुनुभएको छ ।
ढकाललाई २० हजार नगद राशीसहित सम्मान गरिएको छ भने न्यौपानेलाई १५ हजार ५ सय ५५ रुपैयाँसहित सम्मान गरेको छ । यस्तै घिमिरेलाई १० हजार नगदसहित सम्मान गरेको छ । संगमकी अध्यक्ष अनिता न्यौपानेको अध्यक्षता तथा हास्यव्यंग्यकार नरनाथ लुइटेलको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा सम्मानित व्यक्तित्वका विषयमा साहित्य संगमका मनोज पोखरेलले जानकारी गराउनुभएको थियो ।
कार्यक्रममा आरसी रिजालले शान्तिदेवी वनस्खण्डी स्मृति सम्मान र सम्मानका संस्थापक स्वर्गीय गणेश पौडेलको व्यक्तित्वका विषयमा चर्चा गर्नुभएको थियो । पुरुषोत्तम आचार्यले श्यामप्रसाद शर्माको विषयमा चर्चा गर्नुभएको थियो भने गोपालप्रसाद रिमालको विषयमा कवि सुवास खनालले चर्चा गर्नुभएको थियो ।