एयरपोर्टको सेटिङ मिलाउन ५ लाख खर्च
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भएको सुन तस्करीमा विमानस्थलका कर्मचारीको मिलेमतो पाइएको छ । सुन तस्करले त्रिभुवन विमानस्थलमा तयार पारेको कर्मचारीको समूहले दुई वर्षमा १ सय ३८ केजी सुन पास गराएको खुलेको छ । गत मंसिर २१ गते राति फ्लाई दुबईको एफजेड ५७३ को उडानबाट काठमाडौं आएका यात्रु चन्द्र घलेले १४ किलो सुन बोकेर ल्याएका थिए । उक्त सुन मिनबहादुर घलेले ल्याउन लगाएको बयान चन्द्रले बयान दिएका छन् । उनकै बयानका आधारमा मिनबहादुर पनि पक्राउ परेका छन् । १४ किलो सुनसहित दुई जना पक्राउ परेपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयबाट छानबिन समिति गठन भएको थियो । उक्त समितिले तस्करी गरेर ल्याएको सुन राख्न नागरिक उड्डयन प्राधिकरण (क्यान) का कर्मचारी र तस्करको मिलेमतोमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलभित्रको अपांगमैत्री शौचालयभित्रको दराज प्रयोग हुने गरेको पाइएको छ । उक्त दराज खोल्ने दुईवटा चाबीमध्ये एउटा साँचो क्यानका कर्मचारी र अर्को सुन बोक्ने भरियाले लिने गरेको भेटिएको हो ।
भन्सार कार्यालयका अनुसार १४ किलो सुन तस्करीमा हालसम्म १० जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा चन्द्रबहादुर घले, मीनबहादुर गुरुङ, सुशीला पाण्डे, गणेश चेपाङ, कपिल ओझा, शेरबहादुर बस्नेत, लेखबहादुर तामाङ, राधाकृष्ण श्रेष्ठ, रमेश देउला र अनिल श्रेष्ठ छन् ।घले र गुरुङबाहेक सबै विमानस्थलका कर्मचारी हुन् । जसमध्ये पाण्डे, चेपाङ र ओझा सरसफाइ कर्मचारी हुन् । बस्नेत र श्रेष्ठ क्रमशः प्लम्बर र एसी प्राविधिक हुन् । तामाङ, देउला र श्रेष्ठ ज्यालादारीमा काम गर्ने कर्मचारी हुन् । उनीहरूले विमानस्थलबाट एकपटक सुन पास गराएबापत एक लाख ६० हजार रुपैयाँ बुझ्थे ।
जहाजबाट अवतरण गरे लगत्तै घले सिधै विमानस्थलभित्र रहेको अपांगले प्रयोग गर्ने शौचालय पुग्छन् । घले शौचालय गए नगएको निगरानी गर्ने व्यक्ति धाराको काम गर्ने शेरबहादुर बस्नेत थिए । धाराको काम गर्ने शेरबहादुर बस्नेतले नै सुन तस्करका लागि अपांगमैत्री शौचालयको नक्कली साँचो बनाएर जिम्मा लगाएका थिए । त्यही साँचो लिएर घले सुन राख्न गएका हुन् । शौचालयमा राखिएको सुन भएको ज्याकेट विमानस्थलकै विशिष्ट व्यक्तिको क्षेत्रमा काम गर्ने अर्का कर्मचारी लेकबहादुर तामाङले लिएर दोस्रो तलाको शौचालयमा जान्छन् । जहाँ विमानस्थलकै एसीको काम गर्ने राधाकृष्ण श्रेष्ठलाई सुनको जिम्मा लगाउँछन् । श्रेष्ठ ज्याकेट लगाएर तेस्रो तलामा रहेको एसी बनाउने कोठामा जान्छन् । त्यहाँको आपत्कालीन भ¥याङ प्रयोग गरी एक तला मुनि आउँछन् र एसी बनाउने अर्का कर्मचारी अनिल श्रेष्ठले बाहिरबाट लगाएको ढोका खोलिदिन्छन् । राधाकृष्ण श्रेष्ठले उक्त ज्याकेट विमानस्थलमा मरेको जनावर फाल्ने अर्को कर्मचारी रमेश देउलालाई शौचालयमै गएर सुनको ज्याकेट जिम्मा लगाएर विमानस्थलबाट सुन निकाल्न सफल हुन्छन् ।
उक्त घटनापछि प्रमुख भन्सार अधिकृत मनिराम पौडेलको नेतृत्वमा छानबिन समिति गठन भएको थियो । समिति समक्ष दिएको बयानमा घलेले आफूले दुबईबाट सुन बोकेर ल्याउने र उक्त सुन विमानस्थलको शौचालयमा रहेको रातो डस्टबिनमा राख्ने गरेको बताए ।मिनबहादुर घलेले दिएको निर्देशन अनुसार शौचालमा सुन छोडेर हिड्ने गरेको तर त्यो सुन कसले लैजान्छ भन्ने विषय आफूलाई थाहा नहुने उनले बयान दिएका छन् ।१४ किलो सुन तस्करीको विषयमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयबाट गठित छानविन समितिले तयार गरेको एक प्रतिवेदनका अनुसार चन्द्रले हालसम्म तीन पटक दुवईबाट अवैध रुपमा सुन ल्याइसकेको बयान दिएका छन् ।चन्द्रले पहिलो पटक २ पोका, दोस्रो पटक ४ पोका सुन ल्याएका थिए । पछिल्लो पटक भने ७ पोका (१४ किलो) लिएर आएको उनले बयान दिएका छन् । दुवईमा चन्द्रलाई गुरु भन्ने भारतीय मुलको व्यक्तिले सुन तयार भएपछि फोन गरेर लोकेसन दिने गरेका थिए । सोही लेकेसनमा पुगेर उनले सुन ल्याउने गरेका थिए । उक्त लोकेसनमा पुग्न र सुन लिनको लागि चन्द्रलाई दुवईको ५ दिराम टोकन दिने गरिएको थियो । यसरी नै पछिल्ला दुई वर्षमा मात्रै १ सय ३८ केजी सुन विमानस्थलबाट तस्करी भएको खुलेको छ । चन्द्र घले सुन बोक्न २०१७ देखि ६० पटक र कृष्णकुमार श्रेष्ठ ७६ पटक दुबई पुगेका छन् । विमानस्थलमा लामो समयदेखि सुन तस्करले कर्मचारीको सञ्जालनै तयार पारेको विषय सुरक्षा हिसाबले पनि संवेदनशील छ । भन्सारले एउटा घटनाको अनुसन्धान गरे पनि यसरी तस्करी गराउने समूह दुबईमै छ । दुबईबाट भन्सार पास गरेर आएको सुन अंकित अग्रवालको भएको देखिन्छ । दुबईदेखि काठमाडौंसम्मै संगठित गिरोह देखिएपछि थप अनुसन्धान गर्ने जिम्मा भन्सारले प्रहरीलाई दिने भएको छ । यी घटनाले विमानस्थलमा खटिएका कर्मचारी नै आपराधिक गिरोहको सञ्जालमा रहेको प्रस्ट पार्छ ।